बार्सिलोना

टोरेस बार्सिलोनाका उदयमान खेलाडीः जाभी

मड्रिड । स्पेनिस क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले फेरान टोरेस क्लबको उदयमान खेलाडी भएको बताएका छन् ।

आइतबार ओसासुनामाथि ४–० को जित निकाल्दा बार्सिलोनाका लागि टोरेसले दुई गोल तथा पिइरे इमरिक औबामयाङ र रिकी पिजले एक गोल गरेका थिए । जितसँगै बार्सिलोना स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ ।

जनवरीको ट्रान्सफर विन्डोमा इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट बार्सिलोना भित्रिएका २२ वर्षका टोरेसले सात खेलमा तीन गोल गरेका छन् ।

जाभीले टोरेस प्रतिभाशाली खेलाडी भएको भन्दै क्याम्प नाउको राम्रो खेलाडी बन्नेमा कुनै शंका नभएको प्रतिक्रिया दिए ।

‘फेरानले गोल गर्छन् भनेर मैले पहिले नै भनेको थिए तर, समयको कुरा मात्र हो,’ उनले भने, ‘उनी उचाई चुमिरहेको बार्सिलोनाका महत्वपूर्ण र उत्कृष्ट खेलाडी हुन् ।’

लिगको शीर्ष स्थानमा रहेको रियाल मड्रिडले २७ खेलबाट ६३ अंक जोडेको छ । जुन तेस्रो स्थानको बार्सिलोनाभन्दा १२ अंक बढी हो । समान खेल खेलेको बार्सिलोनाले ५१ अंक जोडेको छ ।