इटालियन सिरी ‘ए’

मिलानलाई पाँच अंकको अग्रता

मिलान । पिइरे कलुलुको गोलमा एसी मिलानले शनिबार इम्पोलीलाई १-० ले निराश पार्दै इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा पाँच अंकको अग्रता लिएको छ ।

मिलान २९ खेलमा ६३ अंकसहित शीर्ष स्थानमा छ । जुन दुई खेल कम खेलेको दोस्रो स्थानको इन्टर मिलानको भन्दा पाँच अंक बढी हो ।  तेस्रो स्थानको नेपोलीको ५७,चौथौ स्थानको युभेन्टसको ५६ र पाँचौ स्थानको एट्लान्टाको ४७ अंक रहेको छ ।

१९औं मिनेटमा कलुलुले गरेको गोल मिलानको जितमा पर्याप्त बनेको थियो । पहिलो हाफमा मिलानको पोस्टमा एक पटक मात्र आक्रमण गरेको इम्पोलीले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि खेलमा फर्कने भने सकेन । 

इम्पोली भने २९ खेलमा ३२ अंकसहित १३औं स्थानमा छ । वर्ष २०२२ मा इम्पोलीले अहिले सम्म कुनेै पनि खेल जित्न सकेको छैन ।

त्यस्तै युभेन्टसले साम्पडोरियालाई ३-१ ले हराउँदै शीर्ष चारको सम्भवना बलियो बनाएको हो ।