इङ्लिस प्रिमियर लिग

रोनाल्डोको कीर्तिमानमा युनाइटेडको जित

लन्डन । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो ह्याट्रिकसहित विश्व फुटबलकै सर्वकालिन गोलकर्ता बनेको दिन शनिबार म्यानचेस्टर युनाइटेडले टोटनहमलाई ३-२ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगको शीर्ष चार सम्भावना जीवित राखेको छ ।

फिफाको आधिकारिक तथ्यांक अनुसार रोनाल्डोको नाममा आठ सय ७ गोलको कीर्तिमान छ । रोनाल्डोले जोसेफ विकानको नाममा रहेको आठ सय पाँच गोलको कीर्तिमान तोडेका हुन् ।

गत साता म्यानचेस्टर सिटीविरुद्ध ४-१ ले पराजित खेलमा रोनाल्डो बेन्चमा थिए । त्यसैले उनी टोटनहमविरुद्ध मैदान उत्रनेमा दुबिधा बढेको थियो ।

१२औं मिनेटमा रोनाल्डोको गोलमा युनाइटेडले अग्रता लियो ।३५औं मिनेटमा ह्यारी केनको गोलमा टोटनहम खेलमा फर्किएको थियो ।  त्यसको तीन मिनेटपछि रोनाल्डोको दोस्रो गोलमा युनाइटेडले पुनः अग्रता लियो । 

७२औं मिनेटमा युनाइटेडका ह्यारी मग्वायरले आत्मघाती गोल गर्दा टोटनहम खेलमा फर्किएको थियो । खेल सकिन नौ मिनेट बाँकी रहँदा रोनाल्डोले ह्याट्रिक पूरा गरेसँगै युनाइटेडले शीर्ष चारमै रहिरहने सम्भावना जीवित राखेको हो ।

युनाइटेड २९ खेलमा ५० अंकसहित चौथो स्थानमा छ । जुन पाँचौ स्थानको आर्सनल भन्दा दुई तथा छैटौं र सातौं स्थानको वेस्ट हम र टोटनहमभन्दा पाँच अंक मात्र बढी हो । युनाइटेड भन्दा आर्सनलले चार खेल कम खेलेको छ ।