म्यानचेस्टर युनाइटेड

रासफोर्ड युनाइटेडमा खुसी छन्ः रागनिक

लन्डन । इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ रागनिकले स्ट्राइकर मार्कुस रासफोर्डले सिजनको अन्त्यसँगै क्लब छोड्न सक्ने बताएका छन् । यद्यपि, उनले इङ्लिस प्रिमियर लिगको मध्यसिजन चलिरहँदा रासफोर्ड युनाइटेडमा खुसी रहेको बताए ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पछिल्लो हप्ता म्यानचेस्टर ‘डर्बी’ अन्तर्गत म्यानचेस्टर सिटीविरुद्ध पहिलो रोजाइमा नपरेपछि रासफोर्ड क्लबसँग रुष्ट रहेको सार्वजनिक गरेका थिए ।

‘मैले रासफोर्डसँग हिजो र त्यसको अघिल्लो दिन कुरा गरेका थियो । उनले यसबारे कुनै कुरा निकालेनन् । क्लब छोड्नेबारे उनले हालसम्म मलाई केही भनेका छैनन् । तर, उनले आफू क्लबमा खुसी रहेको बताएका थिए,’ रागनिकले भने, ‘अहिले ट्रान्सफर विन्डो पनि बन्द छ । यदी उनको परिवार र एजेन्टले क्लब छोड्नेबारे मनसाय बनाइरहे पनि उनले समरमा मात्र अर्को क्लबसँग जोडिन सक्छन् ।’

युनाइटेडले मार्च १६ मा च्याम्पियन्स लिगको दोस्रो लेगअन्तर्गत स्पेनिस टोली एट्लेटिको मड्रिडविरुद्ध खेल्दैछ । लिगको पहिलो लेगमा यी दुई टोलीले १–१ को बराबरी खेलेका थिए ।