नेपाल स्क्वास एसोसियसन

स्क्वास एसोसियसनको बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल स्क्वास एसोसियसनका अध्यक्ष किशोर महर्जनले ६ वटा स्क्वास प्रतियोगिता आयोजना गर्ने योजना रहेको बताएका छन् । यसमध्येका एक प्रतियोगिता भने राष्ट्रिय स्तर आगामी वर्ष आयोजना गरिने महर्जनले बताए ।

शनिबार  एसोसियसनको १३औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष महर्जनले कोभिड १९ का कारण गत दुई वर्षमा नेपालमा स्क्वासका कम प्रतियोगिता भएकाले आगामी वर्ष स्क्वास सक्रिय हुनेमा विश्वास व्यक्त गरे ।

‘हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीलाई मात्र प्रशिक्षण गर्दैनौं । अन्य खेलका खेलाडीलाई पनि स्क्वास खेल्न प्रेरित गर्नेछौं,’ उनले भने ।

साधारण सभामा अध्यक्ष महर्जनले आगामी आर्थिक वर्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रुपकदास ताम्राकारले वर्षका चालु आर्थिक वर्षको बजेट विवरण र आगामी आर्थिक वर्षको अनुमानित बजेट प्रतिवेदन प्रस्तुत गरेका थिए ।

स्क्वास संघका सल्लाहकार ध्रुवबहादुर गुरुङले राम्रो पूर्वाधार भए पनि नेपालमा खेलाडीको संख्या न्युन भएकाले स्क्वास एकेडेमी स्थापना गरेर खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिए । यसैबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रतिनिधि राजेश श्रेष्ठले साधारण सभा सफलताको कामना गरे ।