खप्तड गोल्डकप फुटबल

सुदूरपश्चिम खप्तड गोल्डकपः वर्षको पहिलो उपाधिको खोजीमा मनाङ र फ्रेन्डस

धनगढी । सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल शनिबार धनगढीमा हुदैंछ । 

पाँचौ संस्करणको उपाधिका लागि भोली (शनिबार) पूर्व च्याम्पियन मनाङ मस्र्याङदी क्लव र फ्रेन्ड्स क्लवबीच प्रतिस्पर्धा हुँदैछ । जसमा दुबै टिमले उपाधि जित्ने दाबी गरेका छन । 

मनाङ गोल्डकपको पाचौं संस्करणसम्म सहभागी रहेको छ । पहिलो संस्करणको च्याम्पियन मनाङ दोस्रो पटक उपाधि जित्ने दाउमा रहेको छ ।

 फेन्ड्स भने पहिलो पटक गोल्डकपमा सहभागी भएको हो । पहिलो सहभागीतामा उपाधि जित्ने धुनमा फेन्ड्स रहेको छ । 
मनाङका कप्तान अञ्जन विष्टले फाइनलमा आफूहरुलाई कुनै दबाव नभएको र नकआउट प्रतियोगितामा जस्तो विपक्षी भए पनि जितका लागि खेल्ने बताए । 

‘नकआउट प्रतियोगिताको सबै खेल फाइनलसरह नै हो । हामीलाई दर्शकको पनि साथ छ । हामी उपाधि जित्छौ’,' कप्तान अन्जनले भने‘लिग र नकआउट फरक हो । एक पटक हारेमा उपाधि यात्रामा पूर्णविराम लाग्छ । त्यही भएर फाइनल जित्ने गरी उत्कृष्ट फुटबल खेल्छौ ।’

मनाङका प्रशिक्षक राजेन्द्र तामाङले खप्तड गोल्डकपको उपाधि जितेको खण्डमा आफूहरुलाई लिगमा भोगेको नजितामा केहि हदसम्म मलम लागउने मौका हुने बताए । साथै उनले खेलाडीलाई केहि दिन आराम मिलेकाले पनि फाइनलमा अझ राम्रो प्रदर्शन गर्ने बताए । 

फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले कम्तीमा ७२ घण्टाको आराम पाएको खण्डमा खेलाडीले बढी आराम पाउने भए पनि आफू्रहरु फाइनलका लागि तयार रहेको बताए । 
उनले मनाङ बलियो टिम रहेको र अहिले फ्रेन्ड्स टिम पनि राम्रो रहेको बताए । तर फाइनलमा आफूहरु जितका लागि नै खेल्ने बताए ।

‘यो लिगको खराब नतिजा भुलाउने अवसर हो । त्यहाँ हामीले रेलिगेशनबाट जोगिन संघर्षरत थियौ, मिश्रले भने , पहिलो सहभागितामै उपाधि जित्न चाहन्छौ । दर्शकहरुले हौसला दिएमा थप राम्रो खेल्छौ । खेलाडीहरु पनि थपेका छौं ।’

‘ए’ डिभिजन लिगमा मनाङ र फ्रेन्ड्स भिड्दा मनाङ विजयी भएको थियो । खप्तड गोल्डकपमा फ्रेन्ड्सले सेमिफाइनलमा बागमती युथ क्लवलाई हराएको थियो भने मनाङले हिमालयन शेर्पालाई हराएको थियो । समापन समारोहका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले रहेका छन् । 

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।