सहिद स्मारक ‘बी’ डिभिजन लिग

आरसिटीको पहिलो जित

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रानीपोखरी कर्नर टिम (आरसिटी) ले पहिलो जित निकालेको छ । लिगमा आइतबार आरसिटीले मध्यपुर युथ एसोसियसनलाई २–० ले पराजित गर्यो ।

लिगमा दुई खेलबाट तीन अंक जोडेको आरसिटी तालिकाको छैटौं स्थानमा उक्लिएको छ । यस्तै, समान खेलबाट तीन अंक जोडेको मध्यपुर युथ तालिकाको चौथो स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको सुरुआती १९ सेकेन्डमै अमर ढंगोल आरसिटीलाई अग्रता दिलाएका थिए ।

यस्तै, ७६औं मिनेटमा सागर थारुले गोल गरेपछि आरसिटीले २–० को जित निश्चित गर्यो ।

यसअघि लिगको पहिलो खेलमा आरसिटी खुमलटार युथ क्लबसँग ३–१ ले पराजित भएको थियो । यता मध्यपुरले भने पहिलो खेलमा सामाजिक युथ क्लबलाई ५–२ ले पराजित गरेको थियो ।