इङ्लिस प्रिमियर लिग

सिटीलाई स्ट्राइकरको आवश्यकताः ग्वार्डिओला

लन्डन । मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटीलाई स्ट्राइकरको आवश्यकता रहेको बताएका छन् ।

सिटी पछिल्लो केही समययता टोलीको भरपर्दो आक्रामणको लागि टोटनहमका स्ट्राइकर ह्यारी केनलाई भित्र्याउन प्रयासरत छ । यसअघि सिटीले युभेन्टसबाट किस्टियानो रोनाल्डोलाई भित्र्याउने प्रयास गरे पनि पोर्चुगिच कप्तान आफ्नो पूर्व क्लब म्यानचेस्टर युनाइटेड अनुबन्धित भएका थिए ।

त्यसयता, फेरान टोरेस स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धित भएपछि रहिम स्टर्लिङ र ग्याब्रियल जिससले सिटीको आक्रमण सम्हालेका छन् ।

‘मलाई लाग्छ क्लबलाई एक स्ट्राइकरको आवश्यकता छ,’ आइतबार म्यानचेस्टर ‘डर्बी’ अन्तर्गत म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धाका लागि मैदान उत्रनुअघि ग्वार्डिओलाले भने, ‘समर्थकहरुले आज हामीले खेल जितिरहेका कारण स्ट्राइकरबीनै पनि उत्कृष्ट प्रदर्शन गरिरहेको देखेका छन् । तर, हामीले जित निकाल्न सकेनौं भने टोलीमा स्ट्राइकरको कमी देखिन्छ ।’

लिगमा २७ खेलबाट ६६ अंक जोडेको सिटी शीर्ष स्थानमा आसिन छ । यस्तै, समान खेलबाट ४७ अंक जोडेको युनाइटेड तालिकाको चौथो स्थानमा छ ।