सेभेन साइड फुटबल प्रतियोगिता

केभिएस प्रि–क्वाटरफाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन केभिएस छैटौं अर्किड कप अन्तरविद्यालय सेभेन ए साइड छात्र नकआउट फुटबल प्रतियोगितामा आइतबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

केभिएसले आयोजक अर्किडलाई ५–० गोलले पराजित गर्‍यो । केभीएसका रोजल कार्की एक्लैले ४ गोल गरे भने सुनिल खड्काले १ गोल थपे । अर्किडका प्रान्स दाहाल ‘म्यान अफ द म्याच’ घोषित भए ।

टाइमलाइन, एकलब्य, दर्शना र कौस्तुभ पनि आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

टाइमलाइनले भीमेश्वर एकेडेमीलाई ४–१ गोलले हरायो । विजयी टिमका लागि चारै गोल आशिष मगरले गरे । भीमेश्वरका कस्विन ढुंगेलले सान्त्वना गोल गरे । एकलब्यले ग्लोबललाई ३–० गोलले पाखा लगायो । एकलब्यका अनिल शाहीले २ तथा निरज कोइरालाले १ गोल गरे ।

दर्शनाले बाल गीताञ्जलीलाई टाइब्रेकरमा ६–५ ले पन्छायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । कौस्तुभले हाइली क्रिएटिभमाथि २–१ को जित निकाल्यो । कौस्तुभका रिडम श्रेष्ठ र कुशल बर्देवाले गोल गरे । हाइलीका सजिन थापाले १ गोल फर्काए । यससंगै प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ ।