एन्फा

लिग निर्देशक मिश्रको राजीनामा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग कमिटी सदस्य एवम् लिग निर्देशक सञ्जीव मिश्रले राजीनामा गरेका छन् ।

लामो समयदेखि विभिन्न भूमिकामा रहेर फुटबलमा कार्यरत सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लामो समय खेलेको काठमाडौं क्लबका अध्यक्ष मिश्रले एन्फाका सबैखाले जिम्मेवारीबाट बुधबार राजीनामा दिएका हुन् । लिग कमिटीका सदस्य मिश्र लिग निर्देशक तथा प्रतिस्पर्धा कमिटीको निर्देशकका रुपमा फुटबलको प्राविधिक पक्षको नेतृत्व गरिरहेका थिए ।

मिश्रले लिग कमिटिको सदस्य, लिग निर्देशक तथा प्रतिस्पर्धा निर्देशकको पदबाट तत्काल लागू हुने गरी लिखित राजीनामा महासचिव इन्द्रमान तुलाधरलाई बुझाएका थिए । तर राजीनामा स्वीकृत भने भएको छैन ।

मिश्रले राजीनामा दिएको पुष्टि गरे । तर उनले राजीनामा गर्नुको कारण भने तत्काल खुलाउन चाहेनन् ।

निर्वाचन नजिकिएसँगै एन्फामा बढेको राजनीतिक सरगर्मीको बाइप्रोडक्टस्वरुप मिश्रको राजीनामा आएको बताइएको छ । एन्फाका एक वरिष्ठ पदाधिकारीले निर्वाचन केन्द्रित दुई पक्ष (अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ)बीचको शक्ति संघर्षको चेपमा परेर मिश्रले राजीनामा गरेको बताए । फुटबलको नाम भजाएर व्यक्तिगत स्वार्थ पुर्तिको खेती गरिरहेकाहरुका कारण मिश्र राजीनामा दिन बाध्य भएको ती पदाधिकारीको निश्कर्ष छ ।

‘सञ्जीवजी भनेको फुटबलकोमात्र मानिस हो । यस्तो मानिस अहिलेको जस्तो शक्ति संघर्षको बेला कसैको पनि हुँदैन । दुवै पक्षलाई फुटबलको साँचो सिपाहीसँग असुरक्षाको अनुभूति हुन्छ । त्यही कारण दुवै पक्ष फुटबलमा आफ्नो काम गर्नुको साटो उहाँजस्ता मानिसको खोइरो खन्न उद्दत भएका छन्,’ एन्फाका ती पदाधिकारीले खेलाडीसँग भने, ‘उहाँले आफै केही भन्नुभएको छैन । तर यही कारणले आजित भएर उहाँले राजीनामा गर्नुभएको हो । केही सीमित व्यक्तिहरुको स्वार्थका कारण उहाँजस्तो फुटबललाई नभई नहुने मानिसले छोड्नुपर्ने अवस्था सिर्जना भयो ।’