लामा टेन्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगिता

आर्मी च्याम्पियन

काठमाडौं । त्रिभुवन आर्मी क्लब लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न खेलमा आर्मीले टाइम्स कलेजलाई ९०–५८ स्कोरले हरायो ।

समूह चरणका खेलहरुमा सतप्रतिशत नतिजासहित फाइनलमा पुगेको आर्मीले टाइम्समाथि पहिलो, दोस्रो, तेस्रो र चौथों क्वार्टरमा क्रमशः २२–१०, २४–२०, १७–१६, २७–१२ स्कोरले दबदबा कायम राख्दै उपाधि चुमेको हो ।

प्रतियोगितामा पुरुषतर्फ सहभागी १३ टोलीलाई चार समूहमा विभाजन गरेर लिग कम नकआउट पद्दतिमा खेलाइएको थियो । आर्मीले समूह ‘बी’ को विजेता र टाइम्सले समूह ‘सी’ को विजेताको रुपमा फाइनलको यात्रा तय गरेका थिए ।

यस्तै, बिहीबारै सम्पन्न महिलातर्फ फाइनलमा रोयल बास्केटबल एकेडेमीलाई ५२–४९ स्कोरले हराउँदै नेपाल पुलिस क्लबले उपाधि उचालेको थियो ।

लामा टेन्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगितामा महिलातर्फ सहभागी पाँच टोलीलाई राउन्ड रोविन पद्दतिमा खेलाइएको थियो । त्यसमध्येका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।

फागुन दुई गतेदेखि सुरु भएको प्रतियोगिताको पुरुषतर्फको विजेता आर्मी र महिलातर्फको विजेता पुलिसले समान ५० हजार रुपैंया प्राप्त गरे । पुरुषतर्फको उपविजेता टाइम्स र रोयलले समान २५ हजार रुपैंया प्राप्त गरे ।