ट्वान्टी २० विश्वकप ग्लोबल छनोट

ओमानविरुद्ध कुशलले बनाए कीर्तिमान

मस्कट । आइसिसी ट्वान्टी २० विश्वकपको ग्लोबल छनोटअन्तर्गत तेस्रो स्थानका लागि भइरहेको खेलमा ओमानविरुद्ध नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् ।

ओमानविरुद्ध मस्कटको अल अमेरत क्रिकेट मैदानमा घरेलु टोलीले दिएको ८८ रनको लक्ष्य पछ्यारहेको नेपालबाट कुशलले ४२ बलमा तीन चौका र दुई छक्कासहित ५० रन पूरा गरे ।

नेपालले अहिले १३ ओभरमा एक विकेट गुमाएर ७६ रन बनाएको छ । कुशललाई क्रिजमा १७ बलमा १० रन बनाएका आरिफ शेखले साथ दिइरहेका छन् । त्यसअघि नेपालका अर्का ओपनर आशिफ शेख १८ बलमा एक चौकासहित १३ रन बनाएर पभेलियन फर्किएका थिए ।

कुशलको यो पाँचौ ट्वान्टी २० अर्धशतक हो । जुन ट्वान्टी २० क्रिकेटमा नेपाली ब्याटरले बनाएकाे सर्वाधिक अर्धशतक हाे । उनले पारस खड्काकाे नाममा रहेकाे चार अर्धशतककाे कीर्तिमान ताेडे ।

उनले हालसम्म ट्वान्टी २० क्रिकेटमा पाँच अर्धशतकसँगै एक शतक प्रहार गरेका छन् ।