सहिद स्मारक ‘ए’ डिभिजन लिग

एपिएफको अपराजित यात्रा कायमै

काठमाडौं । एपिएफले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आफ्नो अपराजित यात्रालाई नवौ खेल सम्म निरन्तरता दिएको छ ।

लिगको सुरुआती तीन खेल गुमाएको एपिएफ त्यसपछि भने अपराजित रहँदै आएको छ । सबैखाले प्रतियोगितागरि भने एपिएफ १३ खेलमा अपराजित रहँदै आएको छ ।

एपिएफले गत महिना पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जित्दा फाइनलमा मनाङलाई निराश पारेको थियो । सोही प्रतियोगितामा एपिएफले मछिन्द्र फुटबल क्लबलाई सिजनको पहिलो हार चखाएको थियो ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा एपिएफले पुलिससँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको पहिलो मिनेटमै लिएको अग्रता जोगाउन नसक्दा पुलिसले एपिएफको अपराजित यात्रामा पूर्णविराम लगाउने अवसर गुमाएको हो ।

एपीएफका रक्षक र गोलकिपरबीचको तालमेल अभावको फाइदा उठाउँदै सुमन लामाले पहिलो मिनेटमा बललाई जाली चुमाएपछि पुलिसले अग्रता लिएको थियो ।तर, ४१औं मिनेटमा प्रलिप लामाको गोलमा एपीएफ खेलमा फर्कियो ।

एपिएफले ११ औं चरणमा मनाङलाई हराउँदै रेलिगेशन संकट टारेको थियो । एपीएफ १२ खेलमा १५ अंकसहित आठौं स्थानमा छ ।  पुलिस १२ खेलबाट १२ अंकसहित ११औं स्थानमा यथावत् छ ।

आजै हुने १२औं चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

जारी लिगको १२औं चरणको सकिँदा मछिन्द्र फुटबल क्लब च्याम्पियन भइसकेको छ । यता, च्यासल युथ क्लब र ब्रिगेड ब्वाईज क्लब दोस्रो डिभिजनमा घटुवा भइसकेका छन् ।