च्याम्पियन्स लिग

रियालविरुद्ध एमबाप्पेले स्वभाविक प्रदर्शन गर्नेमा कप्तान मार्किन्होस विश्वस्त

पेरिस । पेरिस सेन्ट जर्मन (पिएसजी) का कप्तान मार्किन्होसले च्याम्पियन्स लिगको अन्तिम १६ मा रियाल मड्रिडको सामना गर्दा फ्रान्सेली स्ट्राइकर किलियन एमबाप्पे स्वभाविक प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताएका छन् ।

रियालले पछिल्लो केही सिजनदेखी लगातार एमबाप्पेलाई अनुबन्धन गर्ने प्रयास गर्दै आए पनि सफल भएको छैन ।

यस सिजन पनि रियालले एमबाप्पेलाई भित्राउने प्रयास गर्ने योजना बनाएको छ । तर पिएसजीले एमबाप्पे क्लबमै बस्नेमा विश्वस्त छ ।

एमबाप्पे २०१७ मा मोनाकोबाट लोनमा पिएसजी आएका थिए । पिएसजीसँगको सम्झौताको अन्तिम ६ महिना बाँकी रहँदा एमबाप्पे यस सिजनको अन्त्यसँगै फ्रि–ट्रान्सफरमा रियालमा जाने खबर सार्वजनिक भएको थियो ।

मंगलबार रियालविरुद्धको खेलमा पिएसजीले जित निकाल्यो भने एमबाप्पेलाई क्लबमै राख्न विश्वस्त गर्न सकिन्छ भन्ने प्रश्नमा  मार्किन्होसले भनेका थिए, ‘त्यो हाम्रो लक्ष्य हैन । राम्रो खेल्ने हाम्रो लक्ष्य हो ।’

‘हामी गोल गर्न चाहन्छौ, त्यहीं महत्वपूर्ण छ,’ मार्किन्होसले भने, ‘एमबाप्पेले टोलीमा सहजता महसुस गरेको हेर्न चाहन्छौ । एमबाप्पे अझै युवा र बलियो मानसिकता भएका खेलाडी हुन् । एमबाप्पे विश्वस्त भएर मैदानमा खेलिरहेको देख्न चाहन्छौ ।’