कोनाटेले मंगलबार लिभरपुलबाट ‘डेब्यु’ गर्ने

लिभरपुल, (खेलाडी)- लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भर्खरै मात्र अनुबन्धित रक्षक इब्राहिम कोनाटेले मंगलबार क्लबका लागि पहिलो खेल खेल्ने पुष्‍टी गरेका छन् ।

फ्रान्सेली रक्षक कोनाटे हालै मात्र आरबी लिपजिगबाट ४ करोड २० लाख युरोमा लिभरपुल सरुवा भएका थिए । लिभरपुलले नयाँ सिजनका लागि भित्र्याएका उनी पहिलो मुख्य खेलाडी हुन् । 

वितेको प्रिमियर लिग सिजनमा चोटका कारण थुप्रै खेलाडी घाइते भएपछि लिभरपुल नयाँ खेलाडी अनुबन्ध गर्न बाध्य भएको थियो । भर्जिल भान डाइक, जोए गोमेज र जोइल माटिपजस्ता रक्षकहरु चोटका कारण वितेको सिजनमा अनुपस्थित भएपछि लिभरपुलको उपाधि रक्षा अभियान असफल भएको थियो । 

२२ वर्षे रक्षक अस्ट्रियामा क्लबको प्रि सिजन अभ्यास सिविरमा टिम सहयात्रीहरुसँग सामेल भएका थिए । उनले मंगलबार वाकर इन्सब्रुक र भिएफबी स्टुटगार्टविरुद्ध लगातार हुने ३० मिनेटका मिनी खेलबाट लिभरपुलको जर्सीमा ‘डेब्यु’ गर्नेछन् । 

‘उनले पर्याप्त आराम पाएका छन् । उनका लागि सिजन ब्रेक सामान्य रहेको छ । त्यसैले मंगलबार उनी मैदान उत्रिनेछन्,’ क्लोपले भने, ‘कोनाटेका लागि यो प्रि सिजनमा टिमसँग घुलमेल हुनु महत्वपूर्ण हुनेछ । अभ्यासकको क्रममा उनको प्रगति धेरै भइसकेको छ । अब खेलमा पनि यही तालमेल कायम रहनेमा म विश्‍वस्त छु ।’