सहिद स्मारक ‘ए’ डिभिजन लिग

टोलीको प्रदर्शनबाट खुसी छुः गुरुङ

काठमाडौं । विभागीय टोली एपिएफसँग बराबरीमा रोकिएपछि संकटा क्लबका मुख्य प्रशिक्षक विष्णु गुरुङले टोली प्रदर्शनबाट आफू खुसी रहेको बताएका छन् ।

‘टोलीको प्रदर्शनबाट खुसी छु । टोलीले पर्याप्त चान्स पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । तीन अंकका लागि खेलेका थियौं तर लक्ष्य पूरा भएन । एपिएफले लिगको सुरुआतदेखि नै राम्रो प्रदर्शन गरेको थियो’, विष्णुले भने, ‘तर, अहिले विदेशी खेलाडी आएकाले बाँकी टोलीमा क्लबले विदेशी खेलाडी ल्याएको छ है भन्ने मानसिकता बनेको कारण एपिएफ बलियो बनेको छ भन्ने मनोविज्ञान बनेको हो । मलाई एपिएफको सुरुआत र अहिलेको प्रदर्शनमा खासै फरक आएको छ जस्तो लाग्दैन ।’

यस्तै, एपिएफका मुख्य प्रशिक्षक कुमार थापाले संकटासँगको बराबरीले टोलीमा दबाब थपिएको बताए ।

‘रेलिगेशन क्षेत्रसँगको अंकदुरी कम छ । आज हामीले जित्न पर्ने खेल थियो । अट्याकिंगमा राम्रो हुन नसक्दा दुई अंक घाटा लाग्यो । आजको बराबरीले दबाब बढेको छ । रेफ्रीको निर्णयका कारण खेलाडीहरु केही आक्रोशित भएका थिए । आहा रारा हिजोको कुरा भइसक्यो,’ कुमारले भने ‘विगत राम्रो भए पनि बर्तमानमा अझै संघर्षरत छौं । हामी अझै ढुक्क छैनौं । अझै रेलिगेशनको दबाब छ । अझै तीन खेल बाँकी छन् । जे पनि हुनसक्छ । फोर्थ रेफ्रीले बाहिरबाट खेलाडीलाई कार्ड देउ भन्नु मलाई अलि चित्त बुझेन । रेफ्रीको निर्णयका कारण खेलाडी घाइते हुने अवस्था थियो । तर, त्यस्तो भएन खुसी छु ।’