कतार बराबरीमा रोकियो, हन्डुरसको प्रभावशाली जित

ह्युस्टन, (खेलाडी)- पानामाले तीन पटकसम्म पछि पर्नाका बावजुद कतारसँग ३-३ को बराबरी नतिजा निकाल्दै कन्काकाफ गोल्डकपको सुरुआत गर्दा आफ्नो पहिलो खेलमा हन्डुरसले ग्रानाडामाथि ४-० को सहज जित हालि गरेको छ ।

ह्युस्टनमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा मात्र ६ गोल भएका थिए । जहाँ अर्को वर्षको विश्‍वकप आयोजक कतारले तीन पटक खेलमा अग्रता लिए पनि त्यसको फाइदा उठाउन सकेन । 

पानामाका रोलान्डो ब्ल्याकबर्नले दोस्रो हाफको पहिलो २० मिनेटमा गोलको वर्षा हुँदा दुई पटक खेल बराबरीमा ल्याए । त्यसपछि ६३औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै हसन अल हेइडोजले कतारलाई ३-२ को अग्रता दिलाए । तर समय सकिन ११ मिनेट बाँकी रहँदा पेनाल्टीमै गोल गर्दै पानामाका इरिक डेभिसले खेल बराबरीमा ल्याए । 

यसअघि ४८औं मिनेटमा कताकरा लागि अक्रम अफिफले दिलाएको अग्रता तीन मिनेटपछि ब्ल्याकबर्नले बराबरीमा ल्याएका थिए । लगत्तै ५३औं मिनेटमा अल्मिज अलीले गोल गर्दै कतारलाई दोस्रो पटक अग्रता दिलाए । तर ब्ल्याकबर्नले ५८औं मिनेटमा दोस्रो व्यक्तिगत गोल गर्दै खेल फेरी बराबरीमा ल्याएका थिए । 

बुधबार विहानै भएको अर्को खेलमा ग्रानाडामाथि हन्डुरस पूर्ण रुपमा हावी भयो । जेरी बेङग्टसन, इड्विन सोलानो, जोनी लेभर्सन र रोमेल क्‍विटोको गोलमा हन्डुरसले ४-० को फराकिलो जित हासिल गरेको थियो ।

शनिबार ह्युस्टनमै पानामाले हन्डुरसको सामना गर्दा कतारले ग्रानाडासँग खेल्नेछ ।