रसफोर्डको पाखुराको शल्यक्रिया गर्नुपर्ने

म्यानचेस्टर, (खेलाडी)- म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कुस रसफोर्डले पाखुराको शल्यक्रिया गराउनुपर्ने भएका कारण प्रिमियर लिगको नयाँ सिजनका सुरुआति खेल गुमाउने भएका छन् । 

वेम्बली रंगशालामा भएको इटालीविरुद्धको फाइनलमा पराजित हुँदै ५५ वर्षपछि प्रमुख प्रतियोगिताको उपाधि जित्‍ने अवसरबाट इङ्ल्यान्ड चुक्दा रसफोर्डले पेनाल्टीमा गोल गर्न सकेका थिएनन् । युरोपियन च्याम्पियनसिप (युरो २०२०) को फाइनलमा इङ्ल्यान्ड पेनाल्टी सुटआउटमा ३-२ ले पराजित भएको थियो । 

पेनाल्टी प्रहार गर्नकै लागि भनेर प्रशिक्षक गारेथ साउथगेटले अन्तिम समयमा मैदान प्रवेश गराएका रसफोर्डको पेनाल्टी गोल नभएपछि उनले अनलाइनमा समर्थकहरुबाट रंगभेदी दुर्व्यवहारको सामना गर्नुपरेको थियो ।

बिबिसीले जनाएअनुसार मंगलबार गरिएको परिक्षणमा रसफोर्डको पाखुरामा गम्भीर समस्या देखिएको थियो । चिकित्सकहरुले सामान्य आरामबाट समस्या समाधान नहुने भन्दै शल्यक्रिया नै गर्नुपर्ने बताएका थिए । 

शल्यक्रियाका कारण रसफोर्डले कम्तिमा पनि एक महिना आराम गर्नुपर्नेछ । युनाइटेडले अगस्ट १४ मा लिड्स युनाइटेडसँग खेल्दै प्रिमियर लिगको नयाँ सिजन सुरु गर्नेछ । 

गत सिजनमा पनि पाखुराको समस्याले रसफोर्डलाई सताइरहेको थियो । सिजन सकिने वित्तिकै युरो २०२० पछि शल्यक्रिया गर्ने उनको योजना थियो । पछि आराम गरेर समस्या मुक्त हुने भन्दै उनले शल्यक्रिया नगर्ने बताएका थिए ।

२३ वर्षे रसफोर्डले गत सिजनमा युनाइटेडका लागि सबैखाले प्रतियोगितामा गरी ५७ खेल खेल्दै २१ गोल गरेका थिए । 

इङ्ल्यान्डले फाइनलसम्मको यात्रा तय गरेको युरो २०२० मा रसफोर्डको उपस्थिती अत्यन्तै पातलो रहयो । पाँच खेलमा उनले वैकल्पिक खेलाडीका रुपमा मात्र मैदान प्रवेश गर्ने मौका पाएका थिए ।