एकदिवसीय शृंखलामा इङ्ल्यान्डको क्लिन स्विप

बर्मिङ्घम, (खेलाडी)- भ्रमणकारी पाकिस्तानमाथि तेस्रो एकदिवसीय खेलमा गए राति तीन विकेटको जित हासिल गर्दै इङ्ल्यान्डको युवा टोलीले तीन एकदिवसीय अन्तर्राष्‍ट्रिय खेलको शृंखला ३-० ले क्लिन स्विप गरेको छ । 

पाकस्तिानबाट पाएको ३ सय ३२ रनको लक्ष्य घरेलु टोलीले दुई ओभरको खेल बाँकी रहँदै सात विकेटको क्षतिमा हासिल गरेको थियो । 

इङ्ल्यान्डलाई सजिलै लक्ष्यसम्म पुर्‍याउने क्रममा जेम्स भिन्सेले सतकीय इनिङ खेले । उनले ९५ बलमा ११ चौकासहित १ सय २ रनको योगदान गरेका थिए । एकदिवसीय अन्तर्राष्‍ट्रिय क्रिकेटमा यो भिन्सेको पहिलो सतक थियो ।

इङल्यान्डका लागि लेविस ग्रेजरीले ७७ रन बनाए भने ज्याक क्रलेले ३९, ओपनर फिल साल्टले ३७, कप्तान बेन स्टोक्सले ३२ रनको योगदान गरे । यसैगरी अविजित रहेका क्राएग ओभर्टनले १८ तथा ब्राइडन कार्सले १२ रन जोडे ।

ग्रेजरीले ६९ बलमा तीन छक्का र ६ चौका प्रहार गर्दा क्रलेले ३४ बलमा सात चौका हाने । यसैगरी साल्टले २२ बलमा सात चौका प्रहार गर्दा स्टोक्सले २८ बल सामना गर्दै एक छक्का तथा चार चौका प्रहार गरेका थिए । 

पाकिस्तानका ह्‍यारिस राउतले चार विकेट लिँदा साडब खानले दुई तथा हसन अलीले एक विकेट लिए । 

यसअघि इङ्ल्यान्डका ब्राइडन कार्सेले पाँच, साकिब महमुदले तीन तथा माट पार्किन्सनले एक विकेट लिएपछि टस हारेर पहिला ब्याटिङलाई निम्त्ययाइएको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३१ रन बनाएको थियो । 

पाकिस्तानका लागि कप्तान बाबर आजमले १ सय ५८ रनको सानदार इनिङ खेले । १ सय ३९ बल सामना गरेका उनले चार छक्का र १४ चौका प्रहार गरे । 

विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान र ओपनर इमाम उल हकले पनि अर्धसतक प्रहार गरेका थिए । रिजवानले ५८ बलमा आठ चौकासहित ७४ रन बनाउँदा ७३ बल सामना गरेका इमाम उल हकले सात चौकासहित ५६ रनको योगदान गरे । 

पाकिस्तानको इनिङमा यसवाहेक फाहिम असरफ (१०) ले मात्र दोहोरो अंकमा रन बनाउन सके । 

इङ्ल्यान्डले जुलाई ८ मा भएको पहिलो एकदिवसीय खेलमा ९ विकेटको जित हासिल गरेको थियो । जुलाई १० मा भएको दोस्रो एकदिवसीय खेलमा घरेलु टोली ५२ रनले विजयी भएको थियो ।

इङ्ल्यान्ड भ्रमणमा पाकिस्तानी टोलीले अब तीन खेलको ट्‍वान्टी २० शृंखला खेल्नेछ । पहिलो ट्‍वान्टी २० खेल नटिङ्‍घममा जुलाई १६ मा हुनेछ भने त्यसको दुई दिनपछि दोस्रो खेल लिड्समा हुनेछ । जुलाई २० मा तेस्रो तथा अन्तिम ट्‍वान्टी २० खेल म्यानचेस्टरमा हुने तय भएको छ ।