एएफसी कप

मछिन्द्रले श्रीलंकाको ब्लु स्टार क्लबसँग खेल्ने

काठमाडौं । जारी सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणको लिग लिडरको हैसियतमा एएफसी कप छनोटमा पुगेको मछिन्द्र फुटबल क्लबले श्रीलंको ब्लु स्टार क्लबसँग खेल्ने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले सोमबार जारी गरेको तालिकाअनुसार सहिद स्मारक लिगको साविक विजेताले श्रीलंकन सुपर लिग विजेतासँग खेल्ने भएको हो ।

यसअघि २०७६ सालमा लिग च्याम्पियन बनेर पनि मछिन्द्रले एएफसी क्लब लाइसेन्स नहुँदा प्रतियोगिता खेल्न पाएको थिएन । मछिन्द्रको स्थानमा त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको प्रारम्भिक चरण खेलेको थियो । 

यद्यपि, यो वर्ष नेपालका चार क्लब मछिन्द्रसँगै, मनाङ मर्स्याङ्दी क्लब, आर्मी र एपिएफ फुटबल क्लबले लाइसेन्स पाइसकेका छन् ।

तालिका सार्वजनिक हुने समयसम्म लिग समाप्त नहुने भएकाले सातौं चरणसम्म लिग तालिकाको शीर्ष स्थानमा रहने क्लबले एएफसी कपमा स्थान बनाउने क्लबहरूबीच सहमति भएको थियो ।

मछिन्द्रले पहिलो पटक प्रतियोगितामा स्थान बनाएको हो भने प्रतिद्वन्द्वी तय भएको श्रीलंकाको ब्लु स्टार पनि पहिलो पटक एएफसी कपमा पुगेको हो ।