फिफा वरियता

बेल्जियमलाई लगातार चौथो वर्ष शीर्ष वरियता

पेरिस । अन्तर्राष्ट्रिय फुटबलमा कीर्तिमानी संख्याको खेल भएको वर्ष २०२१ को अन्त्यमा बेल्जियमले लगातार चौथो वर्ष विश्व वरियताको शीर्ष टोलीका रुपमा नयाँ वर्षको स्वागत गर्ने भएको छ ।

कोभिड १९ महामारीका कारण वर्ष २०२० मा तीन सय ५२ अन्तर्राष्ट्रिय खेलमात्र हुन सकेको थियो । यसअघि १९८७ मा इतिहासमै सबभन्दा कम तीन सय २३ मात्र अन्तर्राष्ट्रिय खेल भएको थियो । विश्वकप २०२२ को छनोटको व्यस्त तालिका भए पनि २०२० मा पर्याप्त खेल हुन नसक्दा अन्तर्राष्ट्रिय फुटबल क्यालेन्डर नराम्ररी प्रभावित भएको थियो ।

अघिल्लो वर्ष पर्याप्त संख्यामा खेल हुन नसकेका कारण २०२१ मा भने विश्वभर इतिहासकै सबभन्दा धेरै एक हजार एक सय १६ अन्तर्राष्ट्रिय खेल भए ।

पछिल्ला वर्षहरुमा खेलको संख्यामा ठूलो उतारचढाव आए पनि बेल्जियमको शीर्षता भने फेरिएन । एक पटक फेरी शीर्ष टोलीको हैसियतमा वर्षको अन्त्य गर्ने क्रममा बेल्जियमले ब्राजिललाई २.१ अंकले पछि पार्यो । युइएफए नेशन्स लिग च्याम्पियन फ्रान्सले तेस्रो स्थानमा रहेर वर्षको अन्त्य गर्यो ।

कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना पाँचौं स्थानमा रहँदा युरोपियन च्याम्पियन इटालीले छैटौं स्थानमा रहेर नयाँ वर्षको स्वगत गर्ने भएको छ । चौथो स्थानमा इङ्ल्यान्ड छ ।

वर्ष २०२१ मा सबभन्दा धेरै सुधार गर्ने टोलीमा क्यानाडाले नाम लेखायो । टोलीले इतिहासकै सबभन्दा उत्कृष्ट वरियतासँग बराबरी गर्ने क्रममा ४० औं स्थानमा फड्को मारेको छ ।

यसैगरी विश्वकप आयोजनाको तयारीमा रहेको कतारले शीर्ष ५० भित्र स्थान बनाउने क्रममा ४८औं वरियता प्राप्त गरेको छ ।