स्पेनिस ला लिगा

एट्लेटिकोले लय समाउने कोकेको विश्वास

मड्रिड । एट्लेटिको मड्रिडका मिडफिल्डर कोकेले बुधबार राति ग्रानाडासँग पराजित भएपछि आफ्नो टोलीको विजयी दिन फर्किने विश्वास व्यक्त गरेका छन् ।

ग्रानाडासँगको हारसँगै स्पेनिस ला लिगा अंकतालिकाको शीर्ष चारबाट तल झरे पनि कोकेले आफूहरु लय समाउँदै सिजनको सुखद सुरुआतका लागि प्रतिबद्ध रहेको बताए ।

बुधबार सुरुमा गोल गरे पनि साविक विजेता एट्लेटिकोले त्यसलाई जोगाउन नसक्दा हार सामना गर्नुपरेको थियो ।

जोआवो फेलिक्सले डिएगो सिमोनीको टोलीलाई दोस्रो मिनेटमा अग्रता दिलाए पनि १७औं मिनेटमा डार्विन मार्चिसले ग्रानाडाका लागि बराबरी गोल गरेका थिए । ६१औं मिनेटमा जर्ज मोलिनाले गोल गर्दै ग्रानाडालाई २-१ को जित दिलाएका थिए ।

लगातार चौथो हारका बावजुद कोकेले आफूहरुले आत्मविश्वास नगुमाएको बताए ।

‘पक्कै पनि अहिले हामी कठिन अवस्थामा छौं । खासगरी पछिल्ला दुई हार हाम्रा लागि अतयन्तै निराशाजनक रहे,’ कोकेले भने, ‘हामीले दुवै खेलमा राम्रो प्रदर्शन गरे पनि पराजय भोग्नुपर्यो । आज पनि टिमले निक्कै राम्रो खेलेको हो । तर हामी अझै पनि उच्च प्रदर्शन गर्दै सुखद अवस्थामा सिजन टुंग्याउनेमा आशावादी छौं ।’

नोभेम्बर २८ मा काडिजमाथि ४-१ को जित हासिल गरेयता एट्लेटिकोले घरेलु ला लिगाका चार खेलमा पराजय भोगिसकेको छ ।

डिसेम्बर चारमा रियाल मायोर्कासँग २-१ को नतिजामा पराजित भएको टोलीले डिसेम्बर १३ मा सम्पन्न मड्रिड डर्बीमा रियाल मड्रिडलाई २-० को नतिजा सुम्पिएको थियो ।

यसैगरी बुधबारको हारअघि टोली डिसेम्बर १९ मा सेभियासँग २-१ को नतिजामा पराजित भएको थियो ।