एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिता

एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताः सुखद सुरुआतको लक्ष्यमा नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष टोलीे एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा बिहीबार आयोजक बंगलादेशविरुद्ध जित निकाल्ने लक्ष्यका सहित कोर्टमा उत्रिने छ ।

बंगलादेशको ढाकामा प्रतियोगिताको उद्घाटन खेल दिउँसो ३ः१५ मा हुनेछ ।

यसअघिको खेल तालिका अनुसार नेपालको पहिलो खेल उज्वेकिस्तानसँग थियो । तर बुधबार पुनः जारी भएको तालिका अनुसार नेपालले पहिलो खेल आयोजक बंगलादेशसँग खेल्न लागेको हो ।

यस्तै बिहीबार नै हुने महिलातर्फको दोस्रो खेलमा नेपाली महिला टोलीले पहिलो जितको खोजीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ः१५ मा हुनेछ ।

साविक विजेता महिला टोलीले १३औं दक्षिण एसियायी खेलकुद (साग) मा श्रीलंकालाई सोझो सेटमा हराएको थियो ।

श्रीलंकासँगको खेल टोलीको लागि फाइनल सरह नै हुने मुख्य प्रशिक्षक जगदीश भट्टले खेलाडीसँगको कुराकानीमा बताए ।

‘श्रीलंकासँगको खेल फाइनल जस्तै हुनेछ । भोलि कोर्टमा उत्रिदा हाम्रो लक्ष्य जित  नै हुनेछ,’ उनले खेलाडीसँग भने, ‘श्रीलंकाली टोलीमा नयाँ खेलाडी र पुराना खेलाडी रहेछन्, टोली पहिलाकोभन्दा राम्रो पनि रहेछ । तर हाम्रो टोली पनि कम छैन ।’

प्रतियोगिताको लागि नेपाली महिला तथा पुरुष टोलीले एक महिनाको तयारी गर्दै सोमबार बंगलादेश पुगेको थियो ।

पुरुषतर्फ आयोजक बंगलादेश, नेपाल, उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका तथा महिलातर्फ आयोजक बंगलादेश, नेपाल, उज्वेकिस्तान, किर्गिस्तान र श्रीलंका सहभागी छन् ।

राउन्ड रोबिन पद्धतिको आधारमा हुने खेलमा शिर्ष दुई टोलिले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।