सहिद स्मारक ‘ए’ डिभिजन लिग

च्यासल र एनआरटीले अंक बाँडे

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी) ले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

बराबरीसँगै च्यासलले तीन खेलबाट चार अंक जोडेको छ । पहिलो खेलमा थ्री स्टारसँग ३–० ले पराजित भएको च्यासलले दोस्रो खेलमा एपिएफलाई १–० ले पराजित गरेका थियो ।

यता एनआरटीको भने यो दोस्रो बराबरी हो । एनआरटीले तीन खेलबाट दुई अंक जाेडेकाे छ । पहिलो खेलमा मछिन्द्र क्लबसँग २–१ ले पराजित भएको एनआरटी दोस्रो खेलमा ब्रिगेड ब्वाइजसँग बराबरीमा रोकिएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो हाफको ४३औं मिनेटमा रुमेश बर्तौलाले गरेको गोलबाट च्यासलले अग्रता लिएको थियो । एनआरटीका मेसुके ओलोउमोउको हेड रिबान्डमा अनमार्क रहेका रुमेशले आकर्षक भलि गोल गरे ।

७९औं मिनेटमा दिपेश घलेले गोल गर्दै एनआरटीलाई खेलमा फर्काए । एनआरटीका नविन गुरुङको क्रस च्यासलका राजिव लोप्चाङबाट डिफ्लेक्ट हुँदा दिपेशले बक्सभित्रबाट सहजै गोल गरे ।

आइतबार हुने एकमात्र खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले ब्रिगेड ब्वाइज क्लबको सामना गर्दैछ ।