सहिद स्मारक लिग

अध्यक्ष शेर्पासँग असहमति जनाउँदै सात फिफा रेफ्रीले दिए राजीनामा, लिग नखेलाउने चेतावनी

काठमाडौं । संकटग्रस्त नेपाली फुटबल प्रशासन बिहीबार सात जना फिफा रेफ्रीले जारी लिगका बाँकी खेल नखेलाउने निर्णयसहित राजीनामा दिएपछि थप अप्ठेरोमा परेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पासँग असहमति जनाउँदै सात फिफा रेफ्रीले दिँदा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले भने आफूसँग आबद्ध दुई रेफ्रीलाई राजीनामा दिनबाट रोक लगाएको छ ।

सुरुमा १० मध्ये आठ पुरुष फिफा रेफ्रीले राजीनामा दिए पनि पछि आर्मीका दुई सहायक फिफा रेफ्री विक्रम चौधरी र माधव खत्रीले राजीनामा फिर्ता लिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले खेलाडीलाई जानकारी गराए ।

तुलाधरका अनुसार राजीनामा दिनेमा फिफा रेफ्रीहरु प्रकाशनाथ श्रेष्ठ, नवीन्द्र महर्जन, कविन ब्यन्जनकार र प्रज्ज्वल क्षेत्री तथा फिफा सहायक रेफ्री नानीराम थापा, सहदेव श्रेष्ठ र किसन यादव छन् । अर्का एक फिफा सहायक रेफ्री युनान मल्ल काठमाडौंमा नभएकाले उनले पनि संयुक्त राजीनामामा हस्ताक्षर गरेका छैनन् ।

हिमालयन शेर्पा क्लबको समेत नेतृत्वमा रहेका एन्फा अध्यक्ष शेर्पाले प्रत्येक तीन महिनामा रेफ्रीको फिटनेस टेस्ट हुनुपर्ने अन्तर्राष्ट्रिय प्रावधानअनुसार डिसेम्बरमै फिटनेस टेस्ट गर्नका लागि दबाब दिएका कारण रेफ्रीहरुले राजीनामा दिएको बताएका छन् ।

‘लिग चलिरहेकाले अहिले फिट्नेस टेस्ट नगर्न रेफ्रीहरुको सुझाव थियो । अध्यक्ष ज्युले अन्तर्राष्ट्रिय चलन अनुसार अहिल्यै हुनुपर्छ भन्नुभयो । त्यसो हो भने हामी खेलाउन सक्दैनौं । यसरी गर्न सकिँदैन भनेर रेफ्रीहरुले राजीनामा दिनुभएको छ,’ महासचिव तुलाधरले भने ।

राजीनामा गर्ने एक रेफ्रीले फिटनेस टेस्टसँग आफूहरु डराएको नभई नियमसंगत तरिकाले गर्न भन्दा एन्फा अध्यक्ष शेर्पाले जबरजस्ती गरेकाले बाध्य भएर राजीनामा गर्नुपरेको बताए ।

‘शंसारमा कतै पनि प्रतियोगिता चलिरहेका बेला त्यो प्रतियोगिता खेलाउने रेफ्रीको फिटनेस टेस्ट हुँदैन । प्रत्येक तीन महिनामा गर्नुपर्ने कुरामा हाम्रो असहमति होइन । तर प्रतियोगिताभन्दा अगाडि वा पछाडि त्यस्तो टेस्ट गरिनुपर्छ । सबैतिर यस्तै गरिन्छ, हामी पनि त्यही गरौं भन्दा अध्यक्षले मान्नुभएन,’ ती रेफ्रीले भने, ‘एन्फाको अध्यक्ष भएर पनि यस्तो प्राविधिक कुरामा जबरजस्ती गरेपछि हामीले मान्न सक्ने अवस्था रहेन । फुटबलबाट भाग्न खोजेका होइनौं । फुटबललाई मर्यादित बनाउन खोजेका हौं ।’