इङ्लिस प्रिमियर लिग

लुकाकुले टोलीका लागि फरक प्रभाव पार्नेछन्ः टचेल

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीका प्रशिक्षक थोमस टचेलले स्ट्राइकर रोमेलु लुकाकु चोटबाट फर्किएपछि टोलीको प्रदर्शनमा फरक प्रभाव पार्ने भए पनि केही समय प्रतिक्षा गर्न आवश्यक रहेको बताएका छन् ।

बेल्जियमका २८ वर्षिय लुकाकु घुँडाको चोटका कारण पछिल्लो महिना मैदान बाहिर रहेका थिए । लुकाकु प्रिमियर लिगअन्तर्गत यसै हप्ता भएको म्यानचेस्टर युनाइटेडविरुद्ध परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । लुकाकु बुधबार हुने वाटफोर्डसँगको खेलमा पहिलो रोजाइमा मैदान उत्रने सम्भावना छ ।

‘हामी लुकाकु हुदाँ तथा नहुदाँ पनि गोल गर्न र खेल जित्न सक्षम छौं । हामीले लुकाकु पूर्ण रुपमा फिट छन् भन्ने विश्वास लिएका छौं । मलाई लाग्छ लुकाकु मैदान उत्रन र टोलीका लागि सक्दो योगदान गर्न तयार,’ टचेलले भने, ‘लुकाकुले टोलीका लागि फरक प्रभाव पार्नेछन् भन्नेमा विश्वस्त छु । तर यसका लागि टोलीले केही समय धैर्य गर्न आवश्यक छ ।’

यसै सिजनको सुरुआतमा इटालियन सिरी ‘ए’ को क्लब इन्टर मिलानबाट चेल्सी अनुवन्धित भएका लुकाकुले टोलीबाट १२ खेलमा चार गोल गरेका छन् ।