च्याम्पियन्स लिग

च्याम्पियन्स लिग : सोल्सायर युगपछिको पहिलो खेल जित्दै युनाइटेड नकआउट चरणमा

भियारियाल । ओले गनर सोल्सायरको बर्खास्तगीपछि पहिलो खेमला भिलारियालमाथि २-० को जित हासिल गर्दै म्यानचेस्टर युनाइटेडले मंगलबार राति च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।

गत सप्ताहन्तमा घरेलु लिगको खेलमा वाटफोर्डसँग ४-१ ले पराजित भएपछि सोल्सायर प्रशिक्षकको पदबाट बर्खास्त भएका थिए । सोल्सायरको बर्हिगमनपछि च्याम्पियन्स लिग समूहको पाँचौं खेलमा मंगलबार माइकल क्यारिकले युनाइटेडको नेतृत्व गरेका थिए ।

क्रिस्टियानो रोनाल्डोले समय सकिन १२ मिनेट बाँकी रहँदा करियरको सात सय ९९औं सिनियर गोल गरेपछि अवे मैदानमा अग्रता लिएको युनाइटेडका लागि जाडोन सान्चोले अन्तिम मिनेटमा गोल गर्दै जित पक्का गरेका थिए ।

त्यसअघि पनि गोलका लागि केही अवसर पाएका सान्चोले अन्तिम  समयमा ब्रुनो फर्नान्डेजको पासलाई गोलमा परिणत गर्दै समूहको एक खेल अगावै युनाइटेडको नकआउट चरण यात्रा पक्का गरे । सोल्सायरको कार्यकालमा गोल गर्न असफल हुँदै आएका सान्चोले उनको बर्हिगमनपछि भने पहिलो खेलमै गोल गरे ।

हारपछि भियारियालको अन्तिम १६ पुग्ने प्रतिक्षा समूहको अन्तिम खेलसम्म लम्बिएको छ । नकआउट चरण प्रवेशका लागि दुई सातापछि हुने समूहको अन्तिम खेलमा भियारियालले एट्लान्टा भ्रमणमा कम्तिमा बराबरी गर्नुपर्नेछ ।

मंगलबार राती भएको समूहको अर्को खेलमा एट्लान्टा योङ ब्वाइज भ्रमणमा ३-३ को बराबरी नतिजामा सीमित भएपछि भियारियालको हारको फाइदा उठाउन असफल भएको थियो ।

मंगलबारका नतिजापछि समूह ‘एफ’बाट पाँच खेलको समाप्तीमा युनाइटेड १० अंकका साथ नकआउट चरणको यात्रा पक्का गर्न सफल हुँदा भियारियाल सात अंकका साथ दोस्रो स्थानमा छ । यसैगरी ६ अंक जोडेको एट्लान्टा तेस्रो स्थानमा छ भने योङ ब्वाइज चार अंकसहित नकआउट चरण पुग्ने गणितीय सम्भावना जीवित राख्दै पुछारमा छ ।