च्याम्पियन्स लिग

युभेन्टसमाथि रवाफ जमाउँदै चेल्सी नकआउट चरणमा, समूह ‘जी’मा प्रतिस्पर्धा खुल्ला

लन्डन । ट्रेभो चालोबाहले च्याम्पियन्स लिगमा पहिलो पटक पहिलो रोजाईबाट खेल्ने क्रममा गोल गरेपछि चेल्सीले घरेलु स्टामफोर्ड ब्रिजमा युभेन्टसमाथि ४-० को रवाफ जमाउँदै अन्तिम १६ को यात्रा पक्का गरेको छ ।

समूह ‘एच’बाट युभेन्टस यसअघि नै नकआउट चरण पुगिसकेको थियो । चेल्सीलाई भने अघिल्लो चरण प्रवेशका लागि मंगलबार राती एक अंक पर्यापत हुने अवस्था थियो । तर घरेलु मैदानमा इटालियन प्रतिद्वन्द्वीमाथि प्रभावशाली जित हासिल गर्दै साविक विजेता टोली अगाडि बढ्यो ।

चालोबाहले २५औं मिनेटमा विवादास्पद गोलमार्फत चेल्सीलाई अग्रता दिलाएका थिए । जहाँ मध्यान्तरपछि प्रिमियर लिगको शीर्ष टोलीले पूर्ण रुपमा रवाफ जमाउँदै तीन गोल थपेर त्यो विवादलाई मत्थर पार्यो ।

असाधारण प्रदर्शन गरेका रिसे जेम्सले ५५औं मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर पारे भने कालम हड्सन ओडोईले ५८औं मिनेटमा अर्को गोल थपेर चेल्सीको जित पक्का गरे । जहाँ इन्जुरी समयको पाँचौं मिनेटमा टिमो वेर्नेरले गरेको गोल चेल्सीका लागि विजयअन्तर थप फराकिलो पार्न काम लाग्यो ।

जितपछि चेल्सी १२ अंकका साथ शीर्ष स्थानमा पुग्दै नकआउट चरणको यात्रामा निस्कियो । युभेन्टसको खातामा पनि समान १२ अंक छ ।

समूहको अर्को खेलमा जेनिट सेन्ट पिट्सबर्ग र माल्मो एफएफले १-१ को बराबरी नतिजा निकाले । चेल्सीको जितसँगै नकआउट चरण पुग्ने सम्भावनाबाट टाढिएको जेनिट चार अंकका साथ तेस्रो तथा एक अंकमा सीमित माल्मो पुछारमा छन् ।

यसैगरी च्याम्पियन्स लिगअन्तर्गत समूह ‘जी’मा मंगलबार पाँचौं चरणको खेल सकिँदा पनि नकआउट चरण पुग्ने सबै टोलीको सम्भावना जीवित रहेको छ ।

लिले घरेलु मैदानमा एफसी साल्जबर्गमाथि १-० को जित हासिल गर्दै आठ अंकका साथ शीर्ष स्थानमा उक्लिए पनि पुछारको उल्फसबर्गको खातामा पाँच अंक छ । उल्फसबर्गमाथि मंगलबार २-० को जित हासिल गरेको सेभिया ६ अंकसहित तेस्रो स्थानमा रहँदा साल्जबर्ग भने सात अंकका साथ दोस्रो स्थानमा छ ।

अब समूहबाट अन्तिम १६ पुग्ने दुई टोलीको टुंगो दुई सातापछि हुने अन्तिम चरणका खेलले निर्धारण गर्नेछन् । अन्तिम खेलमा साल्जबर्गले सेभिया तथा उल्फसबर्गले लिलेलाई आतिथ्य प्रदान गर्नेछन् ।