सहिद स्मारक लिग

ललितपुर डर्बीः सुखद सुरुआतको लक्ष्यमा थ्री स्टार र च्यासल

काठमडौं । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार दोस्रो खेलमा आमने सामने हुँदा थ्री स्टार क्लब र च्यासल युथ क्लब दुवै टोली सुखद सुरुआतको लक्ष्यमा हुनेछन् ।

थ्री स्टारका प्रशिक्षक उज्जन श्रेष्ठले आफूहरुको लक्ष्य लिग च्याम्पियन हुने भएकाले पहिलो खेलबाटै आक्रमक फुटबल खेल्ने बताएका छन् ।

‘लिगका लागि भनेर तयारी राम्रो गरिरहेका छौं’,श्रेष्ठले भने, 'हाम्रो सधैको झै यसपालीको अपेक्षा पनि उपाधि जित्ने छ । लिगका सबै टोली बलियो छन् । त्यसैले प्रतिस्पर्धात्मक खेल हुने देख्छु ।’

त्यस्तै थ्री स्टारका कप्तान विक्रम लामाले पनि तयारी राम्रो भएकाले च्यासलविरुद्ध सुखद नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले टोली सन्तुलित बनेकाले लिगमा उत्कृष्ट नतिजा ल्षउने बताए ।

‘टोलीमा युवा खेलाडी धेरै छन् । खेलाडीहरु निकै उत्साहित छन् । मुख्य कुरा सन्तुलित टोली बनाउँदै छौं,’ साुहखलले भने, ‘युवा खेलाडी धेरै भएकाले हामीले ठुलो लक्ष्य राखेका छैनौं । लिग तालिकाको मध्यमा रहने योजना छ । पहिलो खेलमा सुखद नतिजाका साथ प्रतियोगिताको सुरुआत गर्न चाहन्छौ । ’

त्यस्तै च्यासलका कप्तान विराज महर्जनले पनि आफूहरु थ्री स्टारलाई कडा चुनौती दिन तयार रहेको बताए ।

त्रिपेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो दोस्रो खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । 

शनिबार नै हुने पहिलो खेलमा हिमालयन शेर्पाले संकटा क्लबको सामना गर्दैछ । 

शुक्रबार भएको पहिलो खेलमा नवप्रवेशी सातदोबाटो क्लबले फ्रेन्डससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो ।