कतार विश्वकप २०२२

उरुग्वेका मुख्य प्रशिक्षक ताबरेज बर्खास्त

मोन्टेभिडियो । कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा लगातार खराब नतिजापछि उरुग्वेले प्रशिक्षक ओस्कार ताबरेजसँगको १५ वर्ष देखीको सम्झौतामा पूर्णविराम लगाएको छ ।

उरुग्वेले शनिबार ताबरेजलाई बर्खास्त गरेको हो । ७४ वर्षे तारबेज सन् २००६ मा उरुग्वेको प्रशिक्षकको रुपमा दोस्रो कार्यकाल सम्हाल्न आएका थिए । यसअघि सन् १९८८ देखी १९९० सम्म पनि उनले उरुग्वेलाई प्रशिक्षण दिएका थिए ।

उनको प्रशिक्षणमा उरुग्वेले सन् २०१० को विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । सन् २०११ मा उनकै प्रशिक्षणमा उरुग्वेले कोपा अमेरिकाको उपाधि जितेको थियो ।

तर विश्वकप छनोटमा लगातार चार खेलमा पराजित भएपछि ताबरेजको यात्रामा पूर्णविराम लागेको हो । उरुग्वे दक्षिण अमेरिकी छनोटको सातौ स्थानमा छ ।

 दक्षिण अमेरिकी छनोटबाट शीर्ष चार टोली मात्र विश्वकपमा छनोट हुनेछ । जसमध्ये शीर्ष स्थानको ब्राजिल र अर्जेन्टिना भने यसअघि नै छनोट भैसकेको छ । उरुग्वेले १६ अंक मात्र जोडेको छ । 

छनोटका चार खेल मात्र बाँकी रहँदा उरुग्वेले ताबरेजलाई बर्खास्त गरेको हो ।