मेजर लिग सकर

इन्टर मियामीको सहज जित

काठमाडौं । अमेरिकाको मेजर लिग सकर (एमएलएस) मा आइतबार इन्टर मियामीले नाश्भिलीविरुद्ध ३-१ को सहज जित निकालेको छ ।

घरेलु मैदान चेस रंगशालमा मियामीलाई जित दिलाउन कप्तान लियोनल मेसीलले दुई तथा सर्जियो बुस्केटले एक गोल गरे । नाश्भिलीले एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो ।

जितसँगै १० खेलमा १८ अंक जोडेको मियामी इस्टर्न कन्फिरेन्सको शीर्ष स्थानामा छ । पराजित नाश्भिली आठ खेलबाट सात अंकका साथ १४औं स्थानमा छ ।

खेलको दोस्रो मिनेटमै फ्रान्को नेग्रीबाट आत्मघाती गोल हुन पुग्दा नास्भिलीले अग्रता लिएको थियो । नौ मिनेटपछि मेसीले गोल गर्दै मियामीलाई बराबरीमा ल्याए ।

बुस्केटले ३९औं मिनेटमा गोल गर्दा मियामी २-१ ले अगाडि बढ्यो । ८१औं मिनेटमा मेसीले ब्यक्तिगत दोस्रो गोल गर्दै मियामीलाई ३-१ को जित दिलाए ।