एफए कप

लयमा रहेका युनाइटेड र लिभरपुलबीचको भिडन्त

काठमाडौं । ओल्डट्राफडमा १२ पटकको विजेता म्यानचेस्टर युनाइटेडले आइतबार चिरप्रतिद्धन्द्धी लिभरपुलको सामना गर्दैछ । युनाइटेडलाई घरेलु समर्थकसामू आठ पटकको विजेता लिभरपुललाई हराउँदै एफए कपको सेमिफाइनलमा पुग्ने अवसर हुनेछ ।

एरिक टेन ह्यागको नेतृत्वमा रहेको युनाइटेडले अन्तिम १६ मा शीर्ष डिभिजन क्लब नटिङ्घम फोरेस्टमाथि १-० को झिनो जित हासिल गरेको थियो । त्यसअघि रेड डेभिलको युवा टोलीले पाँचौं चरणमा साउथह्याम्टनलाई ३-० ले हराएको थियो ।

टेन ह्याग र युनाइटेडको यात्रा कहिलेसम्म चल्नेछ भन्ने  यकिन छैन । बजारमा चलेको हल्लालाई सुन्ने हो भने क्लबले उनको विकल्पहरु हेर्न थालिसकेको छ । सिजनको अन्त्यमै उनी बर्खास्तगीमा पर्ने हो भने टेन ह्यागसँग एउटा अवसर भने हुनेछ, त्यो हो आफूले बिताएका दुई सिजनमा युनाइटेडलाई कम्तिमा पनि दुई उपाधि जिताएर बिदा हुने । अघिल्लो वर्ष युनाइटेडले घरेलु फुटबलको अर्काे प्रतियोगिता इएफएल कपको उपाधि जितेको थियो ।

युनाइटेडले गत वर्ष वेम्बिलीको यात्रा तय गरेको थियो । तर, फाइनलमा छिमेकी म्यानचेस्टर सिटीसँग २-१ ले निराश हुन पुग्यो । अहिले युनाइटेड एक स्थान माथि जान चाहन्छ, अर्थात उपाधि जित्न चाहन्छ । युनाइटेड पछिल्लो समय लयमा फर्किएको छ। पछिल्लो ९ खेलमा उसले सात खेल जितेको छ । उसको अन्तिम जित लिभरपुलकै छिमेकी प्रतिद्धन्द्धी एभर्टनविरुद्ध हो । एक हप्ताअघि भएको लिग खेलमा दुई पेनाल्टीको मद्धतमा युनाइटेडले घरेलुु मैदानमा रेलिगेसनबाट संघर्षरत एभर्टनलाई हराएको थियो । अर्को कुरा युनाइटेडले लगातार १३ खेलमा कम्तिमा पनि एक गोल गरेको छ ।

उता प्रतिद्धन्द्धी लिभरपुलले पनि आफ्नो पछिल्लो खेलमा स्पार्टा प्रेगमाथि दयाको भावना देखाएन । एक गोल खाएको लिभरपुलले आधा दर्जन गोल गर्यो । चार गोल त पहिलो १४ मिनेटमै भएको थियो । पछिल्लो तीन खेलमा लिभरपुलले विपक्षी पोस्टमा एक दर्जन गोल गरेको छ । बिहीबार युइएफए युरोपा लिगको अन्तिम आठमा प्रवेश गरेको लिभरपुलले अन्तिम १६ को पहिलो लेगमा प्रेगमाथि ५-१ को जित हासिल गरेको थियो ।

सिजन २०२३-२४ सकिन दुई महिना बाँकी छ । सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरिसकेका क्लब प्रशिक्षक योर्गेन क्लोपसँग थप तीन उपाधि जित्ने अवसर छ । क्लबले दुई हप्ताअघि मात्र लण्डन क्लब चेल्सीलाई १-० ले हराउँदै इएफएल कपको उपाधि जितेको थियो ।

सिटीविरुद्ध १-१ को बराबरी खेलेसँगै आर्सनल घरेलु लिगको अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । तर, लिभरपुलभन्दा गोल भिन्नताका आधारमा मात्र अघि रहेको आर्सनलले अन्तर्राष्ट्रिय ब्रेकपछि सिटीको सामना गर्न बाँकी छ ।

एफए कपमा भने लिभरपुलले आर्सनल, नर्विच सिटी र साउथ्याम्टनविरुद्ध जित हासिल गर्दै अन्तिम आठको यात्रा गरेको हो ।

पछिल्लो ९ खेलमा अपराजित लिभरपुल पुरानो प्रतिद्धन्द्धीलाई आफ्नै मैदानमा निराश पार्ने मनसायमा रहनेछ । लिभरपुलले पछिल्ला ६ क्वार्टरफाइनल खेलमा पराजय ब्यहोरेको छैन । त्यसैले आइतबार फेबरेट लिभरपुलनै हुनेछ ।

एन्फिल्डमा भएको यी दुईबीचको पछिल्लो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । आइतबारको खेल नेपाली समय अनुसार ९ः१५ बजे सुरु हुनेछ ।