एफए कप

न्युक्यासललाई हराउँदै सिटी सेमिफाइनलमा

काठमाडौं । न्युक्यासल युनाइटेडलाई २–० ले हराउँदै म्यानचेष्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको खेलमा सिटीलाई जित दिलाउन बर्नार्डाे सिल्भाले दुबै गोल गरेका हुन् । पहिलो हाफमा गरेको दुई गोल नै सिटीको जितको आधार बन्यो ।

खेलको १३औं मिनेटमा रोड्रिीले मिलाएको पासमा पोर्चुगिज मिडफिल्डरले गोल गरे । रुवेन डिआसले मिलाएको पासमा ३१औं मिनेटमा दोस्रो गोल गरेका हुन् ।

बाँकी समयमा दुबै टोलीले गोल गर्न सकेनन् ।

सिटीले गतसिजन ट्रेबल जितेको थियो । यसपटक समेत सोही नतिजा निकाल्ने आंकलन गरिएको छ । सिटी एफए कपसँगै च्याम्पियन्स लिग र प्रिमियर लिगको उपाधि दौडमा छ ।