अमेरिकी लिग सकर

स्वारेज चम्किएपछि मियामीको सहज जित

काठमाडौं । स्ट्राइकर लुइस स्वारेजको दुई गोल प्रेरित इन्टर मियामीले अमेरिकी लिग सकर (एमएलएस)मा डिसी युनाइटेडलाई ३–१ ले हराएको छ ।

शनिबार राति भएको खेलमा भ्रमणकारी टोलीले सहज जित निकालेको हो । मियामीको जितमा ६२औं मिनेटमा मैदान प्रवेश गरेका स्वारेजले दुई गोल गरे भने अर्काे गोल लिओनार्दाे काम्पानाको नाममा रह्यो । खेलमा कप्तान लियोनल मेसीलाई विश्राम दिइएको थियो । 

जितपछि टोली शीर्ष स्थानमा यथावत छ । पाँच खेलमध्ये तीन जित, एक बराबर र हार बेहोरेको मियामीको १० अंक छ ।

खेलमा अग्रता भने डिसी युनाइटेडले बनाएको थियो । १४औं मिनेटमा जरेड स्ट्रोउडले गोल गरेका थिए । काम्पानाले २४औं मिनेटमा बराबरी गोल गरेका हुन् । पहिलो हाफ १–१ को बराबरी हुँदा स्वारेजले ७२औं र ८५औं मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक जोडेका हुन् ।