स्पेनिस ला लिगा

रियालको सहज जित

काठमाडौं । लिग लिडर रियाल मड्रिडले  स्पेनिस ला लिगामा शनिबार घरेलु टोली ओसासुनामाथि ४-२ को सहज जित निकालेको छ ।

अल सदार रंगशालामा रियाललाई जित दिलाउन भिनिसियस जुनियरले दुई तथा ड्यानी कार्भाजल र ब्राहिम डियाजले समान एक गोल गरे ।ओसासुनाका एन्टी बुडीमिर र इकर मुनोजले एक गोल फर्काए ।

जितसँगै २९ खेलमा ७२ अंक जोडेको रियालले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ । पराजित ओसासुना समान खेलबाट ३६ अंकका साथ ११औं स्थानमा छ । 

खेलको चौथो मिनेटमा नै जुनियरको गोलमार्फत रियालले अग्रता लिएको थियो । एलेहान्द्रो काटिनाबाट बल खोस्दै भिनिसियसले गरेका थिए । 

रियालको यो अग्रता लामो समय टिक्न भने सकने ।तीन मिनेटपछि नै एन्टीले ओसासुनालाई बराबरीमा ल्याए । कप्तान ड्यानी कार्भाजलले १८औं मिनेटमा रियाललाई २-१ ले अघि बढाए । फेडेरिको भाल्भेर्डेको सुन्दर पासलाई कार्भाजलले जाली चुमाए ।  

डियाजले ६१औं मिनेटमा गोल गर्दा रियाल ३-१ ले अगाडि बढ्यो । भाल्भेर्डेको पासलाई नियन्त्रणमा लिँदै डियाले मैदानको लगभग मध्यभागबाट एक्लै बल अघि बढाउँदै उत्कृष्ट गोल गरे ।  तीन मिनेटपछि नै जुनियरले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।

रियालका लुकास भास्क्वेजको ८८औं मिनेटमा गोल गरे पनि भिएआरले त्यसलाई मान्यता दिएन । इन्ज्युरी समयमाय ओसुनाका मुनोजले गोल गरेपछि खेल ४-२ को स्थितीमा सकियो ।