नेपाली फुटबल

ग्रासरूट कार्यक्रम फुटबलको मेरुदण्ड होः पूर्व अध्यक्ष शेर्पा

सिन्धुली । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबलको मेरुदण्ड भनेकै ग्रासरूट कार्यक्रम रहेको बताएका छन्।

सिन्धुलीको दुधौली नगरपालिका-४ डकाहामा ग्रासरूट फुटबल कार्यक्रम सुरुआत गर्दै शेपाले यस्तो प्रतिक्रिया दिएका हुन्। आफ्नो कार्यकालमा ४८ जिल्लामा एकैपटक ग्रासरूट फुटबल कार्यक्रम शुरूआत गरेको उनले सम्झना गरे। यसबाट धेरै खेलाडी उत्पादन भएको उनले बताए।

‘हेर्दाखेरी यो कार्यक्रम सामान्यजस्तो लाग्छ। तर,हामीले ४८ जिल्लाका ६० स्थानमा ग्रासरूट फुटबल सुरु गर्दा धेरै महिला र पुरुष खेलाडी उत्पादन भएका छन्,’ शेपाले भने,‘ फुटबलको  जग भनेकै ग्रासरूट हो। यसलाई बलियो बनाउनुपर्छ।’

डिजिटल युगमा परिवारमा पनि एकै ठाउँमा बस्दा पनि टाढा भएकोजस्तो महसुस गराइरहेको उनले बताए। मोबाइल र सामाजिक सञ्जालले गर्दा यस्तो भइरहेको उनको भनाइ थियो। तर, ग्रासरूट फुटबलले बालबालिकालाई मोबाइल र सामाजिक सञ्जालको लतबाट बाहिर ल्याएर समाजलाई एकै ठाउँमा जोड्ने काम गर्ने उनले बताए।

‘विभिन्न ठाउँबाट आएर बालबालिकालाई एकै ठाउँमा खेल्ने वातावरण मिलाएका छौँ। यसले सोसियल इन्ट्रिगेटिभको रूपमा काम गरिरहेको छ,’ शेर्पाले भने,‘ त्यतिमात्रै होइन, शिक्षा र खेलकुदलाई सँगसँगै लैजानुपर्छ। शिक्षाले मात्रै हुँदैन खेलकुद पनि भयो भने शरीर तन्दुरूस्त बनाउँछ। शरीर तन्दुरुस्त भए ज्ञान पनि हासिल गर्न सहज हुन्छ जस्तो लाग्छ।’

दिनभर पढेर आएको कारण बालबालिका थकित हुने भएको कारण साँझमा खेल्ने वातावरण मिलाउनुपर्ने उनले बताए। विकसित देशमा पनि बालबालिका साँझ नै खेल्ने भएको कारण फल्ड लाइटको व्यवस्था गर्नुपर्ने उनले बताए। त्यसैले ग्रासरूट फुटबललाई साँझ चार बजेदेखि सञ्चालन गर्दा राम्रो हुने उनले सुझाव दिए ।

 ग्रासरूट कार्यक्रममा सहभागी बालबालिका

यसैगरी एन्फाका पूर्वउपाध्यक्ष तथा राष्ट्रिय टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले ग्रासरूट फुटबल तल्लो लेभलको कार्यक्रम रहेको बताए। यो कार्यक्रम नभई माथिल्लो तहमा फुटबल विकास नहुने उनको भनाइ थियो। त्यसैले यस्ता कार्यक्रम सञ्चालन गरिरहे राष्ट्रिय लेभलमा पुग्ने धेरै खेलाडी उत्पादन हुने उनले बताए।

‘हाम्रो लक्ष्य ३०/ ३५ हजार बालबालिका एकै पटक खेलुन् भन्ने हो । हाम्रो चार वर्षे कार्यकालमा १७/१८ हजार बालबालिकाले ग्रासरूट फुटबलमा सहभागिता जनाएका थिए,’ सिंहले भने।

डकाहामा शनिबार सुरु भएको ग्रासरूट कार्यक्रममा करिब २०० बालबालिका उपस्थित थिए। सिंहले अन्य जिल्लामा भन्दा डाकाहामा ग्रासरुट कार्यक्रम संचालन गर्न केही सहज भएको बताए ।

‘ग्रासरूट फुटबल सञ्चालन गर्न स्वयमसेवकको आवश्यक पर्छ। यहाँका स्वयमसेवक भाइहरू स्थानिय नै हुनुहुँदो रहेछ। फुटबल खेलाडी नै भएको कारण मलाई हिजो एक दिनको वर्कसप गरेर मैदानमा आउँदा निकै सहज भयो, सिंहले भने।

यस्तै वडाध्यक्ष रित विश्वकर्मा (रितेश) ले विगतदेखि नै एन्फा पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पाले सहयोग गरिरहेको बताए। निरन्तर साथ सहयोगले आफूलाई ऋणी बनाएको उनले बताए। डकाहाबाट केन्द्रमा गएर व्यावसायिक फुटबल नखेल्दासम्म त्यो ऋण तिर्न नसकिने उनको भनाइ थियो।

‘यो ऋण कसरी तिर्ने भनेर मैले सोचिरहेको छु। जबसम्म केन्द्रमा पुगेर हाम्रा भाइहरूले व्यावसायिक फुटबल खेल्दैनन् तबसम्म यो ऋण तिर्न सकिँदैन जस्तो लाग्छ। त्यसैले भाइहरूले यो मिहिनेत र सहयोगलाई आत्मसाथ गरेर ग्रासरूट फुटबललाई सफल बनाउनुहुन्छ भन्ने विश्वास लिएको छु,’ विश्वकर्माले भने।

कार्यक्रम प्रदेश सांसद श्यामकुमार घिमिरे, एन्फा उपाध्यक्ष विराटजंघ शाहीलगायतको उपस्थिति थियो।