भारतीय महिला लिग

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो सेथु

सेथु एफसी

काठमाडौं । दुई गोलको अग्रता जोगाउन नसक्दा सेथु एफसी भारतीय महिला लिगमा शनिबार किकस्टार्ट एफसीसँग २-२ को बराबरीमा रोकिएको छ ।   ।

सेथुमा नेपाली राष्ट्रिय महिला टोलकी गोलरक्षक तथा कप्तान एन्जिला तुम्बाप्पो सुब्बा र रक्षक गीता राना तथा किकस्टार्टमा मिडफिल्डर दीपा शाही र अनिता केसी आबद्ध छन् । चारै खेलाडीले पहिलो रोजाइमै मौका पाएका थिए ।

यो नतिजापछि किकस्टार्ट ११ खेलमा २१ अंकका साथ तेस्रो स्थानमा रहँदा सेथु समान खेलबाट १४ अंकका साथ पाँचौं स्थानमा छ ।

बेङ्लोर फुटबल रंगशालामा खेलको दोस्रो मिनेटमै लिशाम बबिना देवीको गोलमार्फत सेथुले अग्रता लिएको थियो ।

दुई मिनेटपछि नै काविया पकिरीसामीले टोलीको अग्रता दोब्बर बनाइन् । किकस्टार्टकी शाङ्लकपम बन्ती शर्माले ७८औं मिनेटमा गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याइन् ।

सुस्मिता जाधवले ८३औं मिनेटमा गोल गर्दै किकस्टार्टलाई २-२ को बराबरीमा ल्याइन् । त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोलीले अंक बाँडे ।