झापा गोल्ड कप

मछिन्द्रलाई हराउँदै आर्मी सेमिफाइनलमा

बिर्तामोड । साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमालला राजवंशी रंगशालामा बुधबार आर्मीले मछिन्द्र फुटबल क्लबमाथि २-१ को पुनरागमन जित जित निकाल्यो । 
स्टेफन समिर बिनोङले गोल गर्दै १९औं मिनेटमा मछिन्द्रलाई अग्रता दिलाएका थिए । हिसुब थपलियाको पासलाई बिनोङले गोल पोस्टको दिशा दिएका हुन् । 

नवयुग श्रेष्ठले गोल गर्दै ६१औं मिनेटमा आर्मीलाई बराबरीमा ल्याए । निर्धारित समय सकिन नौ मिनेट बाँकी छँदा वसन्त जिम्बाले गोल  गर्दै आर्मीलाई २-१ को रोमाञ्चक पुनरागमन जित दिलाए । पेनाल्टी बक्समा पाएको बललाई जिम्बाले तीनजना विपक्षी खेलाडीलाई छक्याउँदै गोल गरेका थिए ।

सातौं मिनेटमा नवयुगले विपक्षी गोलकिपर विशाल श्रेष्ठ सँग ‘वान भर्सेस वान’को अवस्थामा गोल गर्न सकेनन् । उनको फितलो प्रहार विपक्षी गोलरक्षक विशालले  सहजै नियन्त्रणमा लिए ।

चौथो मिनेटमा मछिन्द्रका ओमोलाजा करिमको फ्रिकिकमा विमल घर्तीमगरको हेडर बाहिरियो । एक मिनेटपछि नै देवेन्द्र तामाङको हेडर बाहिरिँदा मछिन्द्र अग्रता लिनबाट चुक्यो ।

२२औं मिनेटमा अभिषेक गुरुङको पासमा विमलले गरेको कडा प्रहार आर्मीका गोलकिपर विकेश कुथुले पञ्च गरेर बचाएपछि मछिन्द्रले अग्रता दोब्बर बनाउन सकेन।

८०औँ मिनेटमा विकेश अगाडि बढेको अवस्थामा मछिन्द्रका आयुष घलानले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।  

अन्तिम क्वार्टरफाइनलमा बिहीबार आयोजक झापा ११ एफसीले एन्फा मकवानपुरसँग प्रतिस्पर्धा गर्नेछ ।