नेपाली क्रिकेट

ट्वान्टी २० विश्वकप तयारीका लागि ५ करोड निकासा

फाइल फोटो

काठमाडौं । आइसिसी पुरुष ट्वान्टी २० विश्वकप खेल्न लागेको नेपाली क्रिकेट टोलीको तयारीका लागि अर्थ मन्त्रालयले ५ करोड रुपैयाँ निकासा भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिँदै नेपाल सरकार, सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयप्रति धन्यवाद ब्यक्त गरे ।

‘नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ । विश्वकपको तयारीका लागि परिषद्ले युवा तथा खेलकुद मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको थियो । खेलकुदको महत्वलाई बुझेर रकम निकासा गर्न सहयोग गर्ने नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु,’ सदस्यसचिव घिसिङले भने, ‘विश्वकपमा छनोट हुना साथ पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टोलीको तयारीका लागि लाग्ने खर्चमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । यो बाच पूरा भएको छ । अब खेलाडीले उच्च मनोबलका साथ तयारी गर्दै विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएको छु ।’

नेपालले गत अक्टोबर ३० देखि नोभेम्बर ५ सम्म घरेलु मैदानमै भएको आइसिसी पुरुष ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा युएइलाई आठ विकेटले हराउदै १० वर्षपछि  विश्वकपमा स्थान सुरक्षित गरेको थियो ।

विश्वकप अमेरिका र वेस्ट इन्डिजमा जुन १ देखि हुँदैछ ।  नेपालले पहिलो पटक सन् २०१४ मा  विश्वकप खेलेको थियो ।