साफ यु-१६ महिला च्याम्पियनसिप

नेपालको पहिलो जित

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१६ महिला च्याम्पियनसिपमा घरेलु टोली नेपालले पहिलो जित निकालेकाे छ ।  

सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा नेपालले भुटानलाई ३-० ले पराजित गर्याे। तीनै गोल पहिलो हाफमा भएका हुन् ।  

नेपाललाई जित दिलाउन पूजा गिरी, कप्तान भुमिका बुढाथोकी र ज्ञानशु डोल्मा लोले गोल गरे ।

जितसँगै दुई खेलमा तीन अंक जोडेको नेपालले फाइनल सम्भावनालाई जिवितै राखेको छ । दुवै खेलमा पराजित भुटानको भने फाइनल सम्भावना सकिएको छ ।

खेलको १४औं मिनेटमा पूजाको गोलमार्फत नेपालले अग्रता लिएको थियो । चार मिनेटपछि नै कप्तान भुमिकाले टोलीको अग्रता दोब्बर बनाइन् ।

३१औं मिनेटमा ज्ञानशुले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दा नेपाल ३-० ले अगाडि बढ्यो । त्यसपछि कुनै गोल हुन नसक्दा नेपालले सहज जित निकाल्यो ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग २-० ले पराजित भएको थियो । भुटानले भारतसँग ७-० को हार ब्यहोरेको थियो । 

अब नेपालले बिहीबार भारत तथा भुटानले शुक्रबार बंगलादेशको सामना गर्नेछन् । त्यसअघि मंगलबार बंगलादेश र भारतबीचको खेल हुनेछ ।