वाफ वुमन्स च्याम्पियनसिप

नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा पराजित

काठमाडौं । वेष्ट एसियन फुटबल महासंघ (वाफ) वुमन्स च्याम्पियनसिप अन्तर्गत फाइनलमा नेपाल जार्डनसँग पेनाल्टी सुटआउटमा ५-३ ले पराजित भएको छ ।


पराजित भएसँग नेपालले पहिलो  अन्तर्राष्ट्रिय  जित्नबाट बञ्चित भएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा नेपालको यो ११औं हार हो ।

साउदी अरेबियाको जेदाहस्थित प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा बिहीबार सम्पन्न फाइनलको निर्धारित समयमा दुवै टोलीबाट २-२ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो ।  

पेनाल्टीमा नेपालका लागि गीता राना, दीपा शाही र हीराकुमारी भुजेलले गोल गरे । अमृता जैसीको प्रहारलाई जोर्डनकी गोलकिपर शरिन अल सलाबेले बचाइन् ।

जोर्डनका लागि आयाह अल मजाली, मेइसा जब्राह, नुर जोक्वास, सारा अबु सबा र रोजबाहान फरिजले गोल गरे ।

त्यसअघि खेलको २९औं मिनेटमा सबिता राना मगरले रेखा पौडेलले उपलब्ध गराएको पासमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

७४औं  मिनेटमा लिना फरेसले जोर्डनलाई बराबरीमा ल्याइन् । निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा सारा अबु सबाले गोल गर्दै जोर्डनलाई २-१ ले अगाडि बढाइन् ।

इन्जुरी समयमा गीता रानाले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २-२ को बराबरीमा ल्याइन् ।

सेमिफाइनलमा नेपालले लेवनान र जोर्डनले प्यालेस्टाइनलाई पराजित गरेका थिए । नेपालले आमन्त्रीत टोलीको रूपमा पहिलो पटक वाफ वुमन्स च्याम्पियनसिप खेलेको हो ।  जोर्डन छैटौं पटक च्याम्पियन बन्यो ।