इङ्लिस प्रिमियर लिग

आठ गोल भएको खेलमा न्युक्यासल र लुटनले अंक बाढे

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत न्युक्यासल युनाइटेड र लुटन टावनबीचको खेलमा आठ गोल भएको छ । शनिबार भएको निकै रोमाञ्चक खेल भने बराबरीमा टुंगियो ।

न्युक्यासल मैदान सेन्ट जेम्स पार्कमा अग्रता घरेलु टोलीले नै बनाएको थियो । दोस्रो हाफमा पनि न्युक्यासल ले नै खेल बारबरीमा ल्याएको हो ।

न्युक्यासल २३ खेलमा १० जितसहित ३३ अंक जोडेर नवौं स्थानमा छ । लुटन भने २० अंकसहित १६औं स्थानमा छ । २२ खेल खेलेको लिभरपुल ५१ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

खेलको सातौँ मिनेटमा सेअन लोङस्टाफले न्युक्यासलाई अग्रता दिलाएका हुन् । गाब्रियल ओशोले २१औं मिनेटमा बराबरी गोल फर्काए ।

लोङस्टाफले न्युक्यासलाई २३औं मिनेटमा पुनः २–१ को अग्रता दिलाएका थिए । रोस बाक्र्लीले ४०औं मिनेटमा २–२ को बराबरी गोल गरेका हुन् । 
दोस्रो हाफमा भने लुटनले लगातार दुई गोल फर्कायो । कार्लटन मोरिसले पेनाल्टीमा गोल गर्दै ५९औं मिनेटमा अग्रता ३–२ को बनाएका हुन् । एलिजा एडेबायोले ६२औं मिनेटमा गोल गरेसँगै लुटन ४–२ ले अगाडि रह्यो ।

तर, केइरान ट्रिपियरले ६७औं मिनेटमा अग्रता ४–३ मा झारेका थिए । हार्भे बार्नेसले ७३औं मिनेटमा चौथो गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।