स्पेनिस ला लिगा

बार्सिलोनाको सहज जित

काठमाडौं । प्रशिक्षक जाभी हर्नान्डेजले राजिनामा दिएपछि स्पेनिस महारथी बार्सिलोनाले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको स्पेनिस ला लिगामा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई ३–१ ले हराएको हो ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की, इल्काय गुन्डोगान र भिक्टोर रोकुले समान एक गोल गरेका हुन् । खेलमा बार्सिलोना १८ मिनेट बढी १० खेलाडीमा सिमित भयो ।

राति नै भएको खेलमा जिरोना रियाल सोसिडाडसँगै गोलरहित बराबरीमा रोकिएसँगै शीर्ष स्थानमा उक्लने अवसर गुमायो ।

२२ खेल खेलेको रियाल मड्रिड ५७ अंकसहित शीर्ष स्थानमा छ । जिरोना २३ खेलबाट ५६ अंकसहित दोस्रो र समान २३ खेलबाट बार्सिलोना ५० अंकसहित तेस्रो स्थानमा रहेको छ । पराजित अलाभेस भने २६ अंकसहित १२औं स्थानमा रह्यो ।

भ्रमणकारी क्याटलान क्लबको लागि खेलको २२औं मिनेटमा लेवान्डोस्कीले अग्रता बनाएका हुन् । गुन्डोगानले मिलाएको पासमा उनले गोल गरे ।

पहिलो हाफमा बार्सिलोना १–० ले अगाडि रहँदा दोस्रो हाफमा दुबै टोलीबाट थप तीन गोल भए । खेलको ४९औं मिनेटमा पेड्रीको पासमा गुन्डोगानले अग्रता दोब्बर बनाएका हुन् ।

घरेलु टोलीका सामुयल अमोरोडिनोनले खेलको ५१औं मिनेटमा अग्रता २–१ मा झारेका हुन् । तर, ६३औं मिनेटमा हेक्टर फोर्टको पासमा भिक्टोरले तेस्रो गोल गरेका हुन् ।

भिक्टोरले नै खेलको ७२औं मिनेटमा दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदान छाडेपछि बार्सिलोना दश खेलाडीमा सिमित भएर खेलेको थियो ।