एएफसी एसियन कप

रोमाञ्चक जित निकाल्दै जोर्डन क्वार्टरफाइनलमा

काठमाडौं । इराकलाई ३-२ ले स्तब्ध बनाउँदै जोर्डन कतारमा जारी एएफसी एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

खालिफा अन्तर्राष्ट्रिय रगशालामा सोमबार जोर्डनलाई जित दिलाउन यजान अब्दुल्लाह अल नेमात, याजन  अल अरब र नाइजर महमुदले गोल गरे । इराकका लागि साद नाटिक र अ‍ैयमेन हुसेनले गोल गरे । 

पहिलो हाफको इन्जुरी समयमा नेमातको गोलमार्फत जोर्डनले अग्रता लिएको थियो । नाटिकले ६८औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

हुसेनले ७६ औं मिनेटमा गोल गरेपछि इराक २-१ ले अघि बढेको थियो । तर, गोल पछिको सेलिब्रेसनका क्रममा उनले दोस्रो पहेँलो कार्ड (रातो) ब्यहोर्दै मैदान छाडेपछि इराक १० खेलाडीमा समेटिएको थियो ।

खेलको इन्जुरी समयमा जोर्डन दुई गोल गर्यो । जोर्डनका लागि अल अरब र महमुदले गोल गरेका थिए । इन्जुरी समयमै हम्जा अल दर्दोर रातो कार्ड ब्यहार्दै मैदान छाडेपछि जोर्डन पनि १० खेलाडीमा समेटिएको थियो ।