मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता

राम जानकी, लक्ष्मी र सुर्योदय मावि विजयी

नेपालगन्ज । राम जानकी मावि कोहलपुर, लक्ष्मी मावि बर्दहवा र सुर्योदय मावि चिसापानीले नेपालगन्जमा भैरहेको मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगितामा सोमबार जित हासिल गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भएको खेलमा राम जानकी माविले ब्राइटल्यान्ड स्कुलमाथि ११-१ को फराकिलो जित निकाल्यो ।

राम जानकीका लागि महेश विकले ह्याट्रिक गरे । यसैगरी अमित थापा र अनिलकुमार मगरले समान दुई तथा रिजन कठायत र गणेश आलेले समान एक गोल गरे । दुवै टोलीले एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त गरे ।

महेशले  खेलको ११, ४० र ४७ औं मिनेटमा गोल गरे । अमितले दुई गोल गरे । उनले १४औं र ३२औं तथा अनिल कुमार मगरले २५औं र ३४औं गरे । यसैगरी रामजानकीका लागि रिजन कठायतले २०औं मिनेट र गणेश आलेले २६औं मिनेटमा गोल गर्दा । 

तेस्रो मिनेटमा ब्राइटल्यान्डका खेलाडीबाट आत्मघाती गोल भएको थियो । यसैगरी रामजानकीका खेलाडीले ४५ औं मिनेटमा आत्मघाति गोल गर्न पुगेका थिए ।


अर्को खेलमा लक्ष्मी माविले एबिसी रेसिडेन्टल स्कुलमाथि ३–२को पुनरागमन जित निकाल्यो  । लक्ष्मीका लागि आर्यन केसीले दुई तथा अभिनन्दन शाहीले एक गोल गरे । एबिसीका लागि दुवै गोल सुजन ओलीले गरे ।

खेलको दोस्रो र आठौं मिनेटमा गोल गरेपछि एबिसी २-० ले अगाडि बढेको थियो  ।  आर्यनले १३ र २३औं मिनेटमा गोल गरी खेललाई बराबरीमा ल्याए । अभिनन्दनले ३६औं मिनेटमा गोल गर्दै लक्ष्मीलाई ३-२ को पुनरागमन जित दिलाए ।

सोमबार भएको तेस्रो खेलमा सुर्योदय मावि चिसापानीले राम मावि कोहलपुरलाई ४-० ले पराजित गर्यो  । सुर्योदयका लागि सम्राट सुनारले दुई तथा क्षितिज बुढा र पुरन थापाले समान एक गोल गरे ।  

सम्राटले ३२ र ५४ औं मिनेटमा गोल गरेका थिए । यसैगरी क्षितिले चौथो र पुरनले ४०औं मिनेटमा गोल गरे ।

बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा भैरहेको प्रतियोगितामा २८ छात्र टोलीको सहभागिता छ ।

प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो खेलमा जिभिएन कलेज र नेपालगन्ज सेन्ट जेभियर्स दोस्रो खेलमा अमर मावि सि गाउँ र आदर्श इङलिस मिडियम स्कुल तथा तेस्रो खेलमा धम्बोझी मावि र आदर्श मावि खजुराबीच प्रतिस्पर्धा हुनेछ ।