आहा रारा पोखरा गोल्डकप

जावलाखेलसँग मछिन्द्र स्तब्ध

तस्विरः सहार क्लब पोखरा

काठमाडौं । स्टार खेलाडीले भरिएको मछिन्द्र क्लबलाई १-० ले पराजित गर्दै जावलाखेल युथ क्लब २३ औं आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाेखरा रंगशालामा बिहीबार सम्पन्न खेलमा जावलाखेललाई जित दिलाउन हिसुब थपलियाले पहिलो हाफमा गरेको गोल निर्णायक  बन्याे । हारसँगै मछिन्द्र प्रतियोगिताबाट बाहिरिएको छ ।

हिसुबले खेलकाे ३८ औं मिनेटमा जावलाखेललाई अग्रता दिलाएका थिए । विपक्षी गोलकिपर विशाल श्रेष्ठ अगाडि बढेको अवस्थामा हिसुबले चलाखी पूर्ण ढंगले उनलाई बिट गर्दै गोल गरेका थिए ।

यसबाहेक दुवै टोलीले अवसर सृजना गरे पनि गोल भने गर्न सकेनन् । दोस्रो हाफको सुरुआती चार मिनेटमा विमलको फ्रिकिक क्रसबारमा लाग्दै बाहिरियो ।

 मछिन्द्र क्लब, तस्विरः सहार क्लब पोखरा

निर्धारित समय सकिन ९ मिनेट बाँकी छँदा जावलाखेलले अग्रता दोब्बर बनाउने सुनौलो अवसर गुमायो । हिसुबको पासमा २२ यार्ड परबाट वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका सिवान्त थापाले गरेको लोअर प्रहार बाहिरिएको थियो ।

जावलाखेलले अब माघ १५ गते सोमबार क्वार्टरफाइनलमा मनाङ मर्स्ङ्दीको सामना गर्नेछ । प्रतियोगितामा शुक्रबार विभागीय टोली नेपाल पुलिस क्लब र एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।