एएफसी एसियन कप

साउदीको पुनरागमन जित

काठमाडौं । उपाधि दाबेदार मानिएको साउदी अरेबियाले एएफसी एसियन कपमा ओमानविरुद्ध २–१ को पुनरागमन जित निकालेको छ ।

मंगलबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा एक गोलले पछि परेको स्थितिमा साउदीले पुनरागमन गर्दै कठिन जित निकालेको हो । यसै समूहको अर्काे खेलमा थाइल्यान्डले किर्गिस्तानलाई हराएको छ ।

समूह एफमा सामान अंक भएपनि थाइल्यान्डले साउदीलाई पछि पारेको छ । ओमान र किर्गिस्तानले अंक जोड्न अर्काे खेल कुर्नुपर्छ ।

खेलको १४औं मिनेटमा अल यहयाइले पेनाल्टीमा गोल गर्दै ओमानलाई अग्रता दिलाएका थिए । अब्दुरहमान घारीवले अली लाजमीको पासमा ७८औं मिनेटमा बराबरी गोल फर्काएका हुन् ।

इन्जुरी समयको ६ मिनेटमा अली अल बोलाहीले गोल गर्दै साउदीलाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् ।