नेपाल सुपर लिग

नेपाल सुपर लिगः पोखरालाई हराउँदै ललितपुर फाइनलमा

काठमाडौं । पोखरा थन्डर्सलाई अतिरिम्त समयमा २-१ ले पराजित गर्दै ललितपुर सिटी एफसी  नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा निर्धारित ९० मिनेटमा दुवै टोलीले १-१ गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो । ललितपुरका लागि इमो इजिकेल र कुशल देउवा तथा पोखराका लागि स्टेफन अन्नोरले गोल गरे ।

खेलको ३३ औं मिनेटमा ललितपुर १० खेलाडीमा समेटियो । आयुश घलानलाई फउल गरेपछि दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा इजिकेलको गोलमार्फत पोखराले अग्रता लियो । उनले पापा इबु केबेको लामो दुरीको पासलाई नियान्त्रणमा लिँदै पोखराका दुई रक्षक र गोलकिपर प्रिसोलाई बिट गर्दै जाली चुमाएका थिए ।

५२ औं मिनेटमा आयडुले लामो दुरीबाट गरेको प्रहार ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले समाते ।  दुई मिनेटपछि नै पोखराका आयुष घलानले बक्स बाहिरबाट गरेको प्रहार पोस्ट नजिकैबाट  बाहिरियो ।

६३ औं मिनेटमा दिनेश रजवंगशीको फ्रिकिकलाई बाल्टुसले सहजै नियन्त्रणमा लिए । ७१ औं मिनेटमा अन्नोरले पोखरालाई बराबरीमा ल्याए । उनले आयडुको क्रसलाई हेटमार्फत पोस्टको दिशा दिएका थिए ।

९९ औं मिनेटमा कुशलको गोल निर्णायक बन्दा २-१ को रोमाञ्चक जित निकाल्दै ललितपुरले फाइनल यात्रा तय गर्यो । उनले ओमोलाजा करिमको फ्रिकिकमा अनन्त तामाङको हेडरलाई पोखराका रक्षकले क्लियर गर्न सक्दा प्राप्त बललाई सहजै पोस्टको दिशा दिए । 

ललितपुरले उपाधिका लागि धनगढी एफसीको सामना गर्नेछ । ललितपुरले एलिमिनेटरमा साबिक विजेता काठमाडौं रेजर्सलाई पराजित गर्दा पोखरा पहिलो क्वालिफयरमा धनगढीसँग पेनाल्टी सुटआउटमा ४-३ ले पराजित भएको थियो