उपमेयर कप राष्ट्रिय महिला फुटबल

धनगढीले गोकर्णेश्वरसँग अंक बाँड्यो

काठमाडौं । गोकर्णेश्वर नगरपालिकासँग अंक बाँडेपछि धनगढी उपमहानगरपालिकाको शीर्ष स्थानमा बस्दै उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको नकआउट चरण प्रवेश गर्ने लक्ष्यले पूर्णता पाएन ।

समूह ‘एच’ को पहिलो खेलमा धनकुटा नगरपालिकालाई ५-० ले पराजित गरेको धनगढी शुक्रबार लगातार दोस्रो जितका साथ शीर्ष पक्का गर्न चाहन्थ्यो । तर गोकर्णेश्वरसँग १-१ को बराबरी खेलेसँगै धनगढीले नकआउट प्रवेशका लागी अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको छ । 
 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलको २८ औं मिनेटमा सेमथाङ तामाङको गोलमा गोकर्णेश्वर नगरपालिकाले अग्रता लियो । तर ७४औं मिनेटमा धनगढीकी चन्द्रा भण्डारीले गोल फर्काइन ।

समूहको अन्तिम खेलमा गोकर्णेश्वर र धनकुटाबीच प्रतिस्पर्धा हुनेछ ।

समूहको शीर्ष स्थानमा रहेको धनगढीले चार अंक जोडेको छ । त्यस्तै एक अंक जोडेको गोकर्णेश्वर दोस्रो स्थानमा र अंकविहिन धनकुटा तालिकाको पुछरमा छ ।

अन्तिम खेलमा गोकर्णेश्वर र धनकुटाले अंक बाढेमा वा गोकर्णेश्वर पराजित भएमा धनगढी नकआउट चरणमा प्रवेश गर्नेछ । 

तर धनकुटालाई ५-० भन्दा माथिको गोलअन्तरले पराजित गरेमा गोकर्णेश्वरले समूह विजेताको रुपमा नकआउट चरणको टिकट काट्ने छ ।