सेरेना विलियम्स

पुगिन् ४०, छैनन् थाकेकी

विश्व टेनिसका प्रशंसकका लागि सेरेना विलियम्सले खेल्न थालेको हिजै जस्तो लाग्न सक्छ । टिनएजमै यी अमेरिकी खेलाडीले तहल्का मच्चाउन थालेकी थिइन् । यिनै सेरेना गत महिना ४० वर्षकी भइन् । उनी अहिले पनि खेलिरहेकी छन्, संन्यास लिने सायद उनको तत्कालको योजना पनि छैन । सबै मान्छन्, विश्व टेनिसले पाएको सर्वकालीन महान् खेलाडीमध्ये एक सेरेना पनि हुन् । विश्व टेनिसमा उनको योगदानबारे चर्चा गर्दा शब्द नपुग हुन्छ ।

सेरेनाका लागि अचेल ‘सुपर स्टार’ शब्द प्रयोग हुने गर्छ । तर, उनी पछिल्लो समय २३ ग्रान्ड स्लामको २३ ग्रान्ड स्लाममै अड्किएकी छन् । मार्गरेट कोर्टको नाममा रहेको सर्वाधिक ग्रान्ड स्लाम जितेको कीर्तिमानबाट खाली एक सफलतामात्र टाढा छन् उनी । अब सेरेनाले कुनै एक ग्रान्ड स्लाम जित्ने छिन् वा छैनन्, त्यसमा प्रश्न छ । तर उनका फ्रान्सेली प्रशिक्षक प्याट्रिक मोरटोगोलु मान्छन्, सेरेनाको ‘लिगेसी’ मा अब कुनै शंका छैन ।



मोरटोगोलु भन्छन्, ‘मार्गरेट कोर्टले खेलिरहेका बेला टेनिस अहिलेजस्तो थिएन, त्यो गैरव्यावसायिक खेलमात्र थियो । ठूलै प्रतियोगिता पनि १६ खेलाडीबीच मात्र हुन्थ्यो ।’

उनले जितेका ग्रान्ड स्लाम उपाधिमध्ये ११ अस्ट्रेलियन ओपन नै रहे, उनको आफ्नो घरमै भएको प्रतियोगिता । मोरटोगोलु थप्छन्, ‘मेरो धारणा कोर्टप्रति असम्मान होइन, तर त्यो समयको टेनिस र अहिलेको टेनिसमा फरक छ । सेरेनाले कोर्टको कीर्तिमान तोडे राम्रै हुनेछ । तोड्न सकिनन् भने पनि सेरेना महान् खेलाडी हुनुमा फरक पर्ने छैन ।’

सेरेनाले अन्तिम पटक सन् २०१७ मा २३ औं ग्रान्ड स्लामका रूपमा अस्ट्रेलियन ओपन नै जितेकी थिइन् । त्यतिबेला उनी गर्भवतीसमेत थिइन् । के अब ढिलोचाँडो सेरेनाले खेल्न छाड्ने छिन् त ? यसको उत्तरमा प्रशिक्षक भन्छन्, ‘सेरेनाले अझै खेल्नेछिन् । तर, छोरीको जन्मपछि शारीरिक रूपमा उनलाई केही गाह्रो भने भएको छ । अहिले सायद उनी टेनिस खेलाडीभन्दा छोरीकी आमा बढी भएकी छन्, जुन एक प्रकारले स्वाभाविक पनि हो ।’

सेरेनालाई लिएर खासमा गाह्रो के भइरहेको छ भने उनी सन् २०१७ यता ग्रान्ड स्लामको फाइनल त पुगेकी छन्, तर लगातार पराजित भइरहेकी छन् । त्यस अस्ट्रेलियन ओपन उपाधिपछि मात्र उनी चारपल्ट फाइनलमा पराजित भइसकेकी छन् । पछिल्लो समय उनी चोटका कारण लगातार कोर्टमा पनि देखा परिरहेकी छैनन् । सन् २०२० मा उनले अन्तिम पटक डब्लूटिए उपाधि जितेकी थिइन् अकल्यान्डमा । र, त्यो उनको करिअरको ७३औं  उपाधि थियो ।

अब के त ? सेरेनाको मनमा पनि यही प्रश्न उठेको हुनुपर्छ । उनी यतिखेर भावुक भएकी हुनुपर्छ, ४० वर्ष छोएपछि । सेरेनाका प्रशंसकलाई मात्र होइन, विरोधीलाई पक्कै लागेको हुनुपर्छ, यी खेलाडीले एक अर्को ग्रान्ड स्लाम जितेकै राम्रो । अनि उनका प्रशिक्षकले भने जस्तै, सेरेनाले अब कुनै ग्रान्ड स्लाम जिते या नजिते पनि त्यसले केही फरक पार्ने छैन । उनी सर्वकालीन महान् टेनिस खेलाडी भएकामा कसैले शंका गर्न सक्दैनन् । (एजेन्सी)